इन्द्र चौधरीलाई बालसाहित्य लेखन पुरस्कार

बालसाहित्यकार इन्द्र चौधरी ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’बाट पुरस्कृत भएका छन्।

काठमाडौँ– बालसाहित्यकार इन्द्र चौधरी ‘नेबासास बालपुस्तक लेखन पुरस्कार’बाट पुरस्कृत भएका छन्।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा दोस्रो बालपुस्तक प्रदर्शनी तथा उपत्यकाव्यापी बालकथा लेखन प्रतियोगिता कार्यक्रमका अवसरमा आइतबार चौधरीलाई पुरस्कार प्रदान गरिएको हो। 

प्रतिष्ठानका कुलपति भूपाल राई, सदस्य सचिव धनप्रसाद सुवेदी र नेपाल बालसाहित्य समाजका अध्यक्ष प्रमोद प्रधानले संयुक्त रूपमा उनलाई पुरस्कार प्रदान गरे।

चौधरीलाई २०७९ सालको आठ वर्षभन्दा कम उमेर समूहको बालपुस्तक लेखनका लागि उक्त पुरस्कार प्रदान गरिएको हो।

चौधरी विगत पाँच वर्षदेखि बालसाहित्य अनुवाद तथा लेखन गर्दै आएका छन्। उनका हालसम्म चार वटा बालचित्र कथाका पुस्तक प्रकाशित भएका छन्। उनले अंग्रेजीबाट नेपाली र अंग्रेजी र नेपालीबाट थारू तथा रानाथारू भाषामा दर्जनौँ बालकथा अनुवाद गरेका छन्।

चौधरीसँगै लेखनतर्फ सिर्जना राईले २०७९ सालको आठ वर्षभन्दा माथिका उमेर समूहका लागि, कवि मित्रलाल पंगेनी २०७८ सालको आठ वर्षभन्दा मुनिका उमेर समूहका लागि र हरि खनाल २०७८ सालकै आठ वर्षभन्दा माथिका उमेर समूहका लागि पुरस्कार प्राप्त गरेका छन्।

त्यस्तै, चित्रांकनतर्फ २०७८ का लागि कलाग्रज बि र २०७९ का लागि कृषा ताम्राकार पुरस्कृत भएका छन्। साथै, प्रकाशन गृहलाई पनि पुरस्कृत गरिएको थियो।