वन पैदावारको उत्पादन र किनबेच सहज बनाउने निर्णय

वन वातावरणसम्बन्धी विषयगत समितिले वन पैदावारको उत्पादन तथा बिक्रीवितरणलाई सरल र सहज बनाउने निर्णय गरेको छ।

काठमाडौँ– वन वातावरणसम्बन्धी विषयगत समितिले वन पैदावारको उत्पादन तथा बिक्रीवितरणलाई सरल र सहज बनाउने निर्णय गरेको छ।

वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीको अध्यक्षतामा सातै प्रदेशका वनसम्बन्धी मन्त्रीसहित सोमबार बसेको समितिको बैठकले संघ, प्रदेश र स्थानीय तहबीच आपसी समन्वय, सहकार्य, सहअस्तित्व र परामर्शसम्बन्धी छलफल गरी सो कार्यलाई सहज बनाउने निर्णय गरेको हो।

वन मन्त्रालयका प्रवक्ता शिवकुमार वाग्लेका अनुसार बैठकले वन क्षेत्रका विभिन्न १२ नीतिगत विषयमा छलफल गरेर प्रभावकारिता र सहजीकरणका लागि काम गर्ने निर्णय गरेको छ।

बैठकले राष्ट्रिय वनको रणनीति स्वीकृत गरी लागू गर्ने, वन व्यवस्थापनलाई प्रभावकारी बनाई काठ दाउराको उत्पादन तथा बिक्री वितरणलाई सहज बनाउनेलगायत निर्णय गरेको उनले बताए।

यसैगरी राष्ट्रिय वनको व्यवस्थापन, डढेलो नियन्त्रणसम्बन्धी पूर्वतयारी, मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन, विकास निर्माणमा सहजीकरण, निजी जग्गाको सालको काठ बिक्री वितरण सहज र सरल बनाउनेलगायत विषयमा समेत बैठकले निर्णय गरेको छ।

संविधानले वनसम्बन्धी अधिकार एकल र साझा सूचीमार्फत तीनै तहमा सुनिश्चित गरेको छ। त्यसैले तीन तहको समन्वय, सहकार्य र सहजीकरणमा कार्यक्रम सञ्चालन गर्न संयुक्त बैठक आयोजना गरिएको वन मन्त्रालयले जनाएको छ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ को उपदफा (१) मा संघीय मन्त्रीको अध्यक्षतामा प्रदेशका सम्बन्धित मन्त्री र संघीय मन्त्रीले तोकेको एक जना स्थानीय तहको प्रतिनिधि सदस्य रहने गरी विषयगत समितिको व्यवस्था छ।