‘जनकपुर साहित्य महोत्सव’को छैटौँ संस्करण माघ २४ गतेदेखि

‘जनकपुर साहित्य महोत्सव’को छैटौँ संस्करण राम मन्दिर पार्कमा माघ २४ गतेदेखि २६ गतेसम्म सञ्चालन हुने भएको छ।

जनकपुरधाम– ‘जनकपुर साहित्य महोत्सव’को छैटौँ संस्करण माघ २४ गतेदेखि शुरू हुने भएको छ। नवमिथिला फाउन्डेसनको आयोजना र फ्याक्ट्स नेपालको प्रायोजनमा हुन लागेको जनकपुर साहित्य महोत्सव माघ २६ गतेसम्म राम मन्दिर पार्कमा आयोजन हुन लागेको हो।

जनकपुरमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै महोत्सवमा हुने सत्रहरूबारे जानकारी गराइएको हो। महोत्सवको उद्घाटन माघ २४ गते दिउँसो दुई बजेदेखि राम मन्दिरको पार्कमा हुने आयोजक संस्थाका अध्यक्ष अमित साहले बताए।

उनका अनुसार तीन दिवसीय महोत्सवमा साहित्य, शिक्षा, पर्यटन, नीति निर्माण, अर्थतन्त्र, सुशासन, राजनीति, भूराजनीति, खेलकुद, सम्पदा, संस्कारजस्ता १७ वटा ‘ओपन–एयर प्यानल’ छलफल हुने छ।

जसमा ‘जनकपुरधामक चुनौती आ अवसर सब’, ‘डिजिटल युगमा पठन संस्कृति’, ‘क्रिकेट: समस्या, समाधान र सम्भावना’, ‘मधेश महिमा: उत्सवको व्यवसायीकरण’, ‘पढाइ, सिकाइ र वैज्ञानिक सोच’ विषयमा विमर्श हुने अध्यक्ष साहले बताए।

तेस्रो दिन माघ २६ गते ‘नेपालको परराष्ट्र नीति र सीमाञ्चल’, ‘संघको दृष्टिमा मधेश’, ‘आन्दोलन र साहित्य’, ‘नेपाली उद्यमीको यात्रा’, ‘आनन्दको खोजी’, ‘समाज, साहित्य र सिनेमा’, ‘मधेशको मत’, ‘उज्यालोको यात्रा’ र ‘संविधान, संघीयता र कानूनी राज्यको अभ्यास’ जस्ता शीर्षकमा समेत बृहत् छलफल हुने अध्यक्ष साहको भनाइ छ।