काठमाडौँ भित्रिने प्रमुख सात सडकमध्ये अहिले कुनै सद्दे छैनन्। बाढी र पहिरोले भत्काएका कतिपय सडक बनाउने सुरसार नै छैन, कतिपयमा मर्मत र स्तरोन्नति सुस्त छ।
काठमाडौँ— झापाका हस्तबहादुर राईले झापा—काठमाडौँ रुटमा माइक्रोबस चलाउन थालेको करिब आठ वर्ष भयो। गत असोजयता जस्तो उनलाई बीपी राजमार्गमा सवारी चलाउन मुस्किल कहिल्यै भएको थिएन।
असोज दोस्रो साताको बाढीले यो राजमार्गको १२ किलोमिटर सडक तहसनहस बनायो। अहिले सामान्य मर्मत गरिएको सडकमा दैनिक सवारी चलाउनु पर्दा दुर्घटनाको भय त छँदैछ, धुलोको हैरानी पनि उत्तिकै छ। उनी भन्छन्, “यो सडकमा सवारी चलाउन एकदमै जोखिम छ। कतिपय ठाउँमा सुक्खा पहिरोको डर छ। पानी पर्ने समयमा झन् के होला?”
कच्ची सडकमा कुदाउँदा गाडी बिग्रिरहने समस्या पनि भएको राई बताउँछन्। बाढीले बगाएको १२ किलोमिटर सडक पार गरेर धुलिखेलसम्म आउन केही सहज हुन्छ। त्यहाँबाट फेरि सडकको हाल उस्तै छ।
धुलिखेल—सूर्यविनायक खण्डमा सडक विस्तार भइरहेको छ। संरचना बनाइँदै गरेको कतिपय ठाउँमा सडक साँघुरो छ। धुलो, धुवाँ र जामको हैरानी उस्तै। हैरानीकै कारण यो सडकमा सवारी चलाउन नपरे हुन्थ्यो भन्ने लाग्छ राईलाई।
तर सवारी नचलाए उनको घर चल्दैन। “सडकको अवस्था देख्दा गाडी नै चलाउन छाडौँ झैँ लाग्छ। तर बाध्यता छ,” उनी भन्छन्, “अरूबेला ११ देखि १२ घण्टामा गन्तव्यमा पुगिने यही सडकबाट अहिले १६ देखि १७ घण्टा लाग्छ। जामले तेलको पनि सत्यानाश, उल्टै ढिला हुँदा यात्रुको गाली पनि खानुपर्छ।”
यो सडक निर्माण र मर्मतमा सरकारले ढिलासुस्ती गरेको उनको गुनासो छ। सरकारलाई उनको प्रश्न छ, “हामीले कहिलेसम्म यस्तो सडकमा गाडी कुदाउने? कहिले बन्छ सडक?”
यो सडकमा बिरामीले पनि घण्टौँ जाममा बस्न बाध्य छन्। मोटरसाइकलमा यात्रा गर्नेले अझै धेरै धुलो र धुवाँ खानुपर्छ।
काठमाडौँ उपत्यका भित्रिने मुख्य राजमार्ग सात वटा छन्। तीमध्ये कुनै पनि सद्दे छैनन्। बीपी राजमार्ग, अरनिको राजमार्ग, पृथ्वी राजमार्गअन्तर्गतको नागढुंगा—मुग्लिङ सडक, हेटौँडा जाने कान्ति लोकपथ, त्रिभुवन राजपथ र हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ आउने सडक ठाउँ–ठाउँमा क्षतिग्रस्त र मर्मतका लागि भत्काइएको अवस्थामा छन्।
नुवाकोट र रसुवालाई काठमाडौँ जोड्ने पासाङल्हामु राजमार्गको तीनपिप्लेभन्दा माथि रानीपौवासम्म विस्तार र स्तरोन्नति भइरहेको छ। दुई वर्षमा काम सक्ने गरी यो सडकको ठेक्का सम्झौता भएको एक वर्ष पुगेको छ। यो सडकमा सात पटकसम्म समयावधि थप्दा पनि काम नभएपछि पुरानो ठेक्का तोडेर दोस्रो ठेक्का लगाइएको हो।

यता, सिन्धुपाल्चोकको मेलम्चीबाट साँखु हुँदै आउने सडकले उक्त जिल्लाको सानो क्षेत्रलाई मात्र काठमाडौँसँग जोड्छ। चन्द्रागिरिको डाँडो हुँदै काठमाडौँ भित्रिने सडकमा ठूला सवारी साधन गुड्न सक्दैनन्। यो सडक अझै जोखिमपूर्ण छ। सीतापाइलाबाट धार्के निस्कने सडक पनि सद्दे छैन।
नागढुंगा–मुग्लिङ सडक विस्तार र कालोपत्रे भइरहेको छ। कान्ति लोकपथमा बाढीले बगाएको बेलिब्रिज निर्माण भएको छैन। जसका कारण बाहिरी जिल्लाबाट आउने सवारीले घण्टौँ कुर्नुपर्ने अवस्था छ।
यी सडकमा सरकारले ध्यान नदिए आगामी वर्षाको समयमा अझै ठूलो क्षति हुने योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेलको अनुमान छ। “काठमाडौँ आउने सबै बाटा कहीँ न कहीँ खराब भएकाले अबको वर्षायाममा इतिहासकै धेरै मानिस दुर्घटनामा पर्ने सम्भावना छ,” उनले फेसबुक स्ट्याटस लेखेका छन्, “काठमाडौँ–मुग्लिङ–नारायणघाट सडक अहिले नै अस्तव्यस्त छ, हेटौँडा जाने बाटोमा पर्ने सिस्नेरी भत्केको छ, कान्ति लोकपथको बगुवा वरिपरि अस्थायी संरचना मात्र छन् भने, बीपी हाई–वे पनि अस्थायी बाटोबाट चलेको छ। कुनै पनि ठूलो बाढीले यी सबै संरचना एकैपटकमा बगाइदिने सम्भावना छ।”
दैनिक लाखौँ यात्रु हिँड्ने सडकमा सरकारको काम गराइ एकदमै ढिला भएको उनी बताउँछन्। प्रधानमन्त्रीले अन्य विषयभन्दा यसमा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले लेखेका छन्, “पहिला पनि ढिलै हो, तर यो वर्ष स्थिति झन् जटिल देख्छु। प्रधानमन्त्रीले अरू खुद्राखुद्री कुरा छोडेर दुर्घटनामुक्त सडक बनाउन ध्यान दिए केही होला कि!”
कहिले बन्ला बीपी राजमार्ग?
असोज दोस्रो साता आएको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेको नमोबुद्धस्थित चौकीडाँडाबाट रोशी गाउँपालिकाको कालढुंगासम्म आठ किलोमिटर सडक पूरै बगाएको थियो। यो खण्डको बाँकी चार किलोमिटर सडक पनि क्षतिग्रस्त थियो। काठमाडौँलाई पूर्वी नेपालका जिल्लासँग जोड्ने छोटो यो राजमार्ग डाइभर्सन बनाएर सञ्चालनमा ल्याइएको छ।
अहिले खोलाको बगरबाटै अस्थायी रूपमा सवारी आवतजावत गरिरहेका छन्। सरकारले यो खण्डमा स्थायी संरचना बनाउनेबारे निर्णय गरेको छैन। बीपी राजमार्ग जापानले निर्माण गरिदिएको हो। अहिले मर्मतका लागि पनि सरकार जापानकै सहयोगको पर्खाइमा छ।
सडक विभागले बीपी राजमार्गको पुनर्निर्माणका लागि अध्ययन सकेको छ। उक्त सडक निर्माण गर्न करिब १० अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका प्रमुख शुभराज न्यौपाने बताउँछन्।
बाह्य सहायता वा आन्तरिक कोष जुन स्रोतबाट बनाए पनि अब उक्त सडक ‘डबल लेन’को हुने सडक विभागका प्रवक्ता अर्जुनप्रसाद अर्याल बताउँछन्। उनी भन्छन्, “बीपी राजमार्ग एकदमै साँघुरो भएकाले अब डबल लेनको बनाउँछौँ। यसमा केही ठाउँमा भिन्न डिजाइन पनि हुनसक्छ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले गत असोज ३० गते नेपालका लागि जापानका राजदूत किकुता युताकासँग यो सडक पुनर्निर्माणका लागि छलफल गरेका थिए। तर अहिलेसम्म जापान सरकारले कुनै निर्णय गरेको जानकारी नआएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव केशवकुमार शर्मा बताउँछन्।
स्रोत सुनिश्चित हुनेबित्तिकै पुनर्निर्माण थाल्ने शर्माको भनाइ छ। भौतिक पूर्वाधार मन्त्रालयले स्रोतका लागि अर्थ मन्त्रालयसँग माग गरिसकेको छ। “पुनर्निर्माणका लागि स्रोत सुनिश्चित भएको छैन। दातृ निकाय वा सरकार जहाँबाट भए पनि स्रोत सुनिश्चितपछि प्रक्रिया शुरू गर्छौं,” उनी भन्छन्।
यो सडकखण्ड बाढीपहिरोले अवरुद्ध गरेको दुई हप्तापछि सञ्चालनमा ल्याइएको थियो। तर सुक्खा पहिरोको जोखिमका कारण संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले गत असोज ३० गतेदेखि राति सवारी सञ्चालनमा रोक लगाएको छ।

सूर्यविनायक—धुलिखेल सडक विस्तार सुस्त
अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक–धुलिखेल १५.८ किलोमिटर खण्ड ६ लेनमा विस्तार भइरहेको छ। तर काम सुस्त गतिमा छ। जसका कारण दैनिक गुड्ने हजारौँ सवारीमा असहज यात्रा भइरहेको छ।
यो सडकखण्ड विस्तार २०७९ पुस २४ मा शुरू हुँदा तीन वर्षभित्र सक्ने लक्ष्य थियो। तर अहिलेसम्म करिब ३८ प्रतिशत मात्रै प्रगति भएको आयोजनाकी सूचना अधिकारी सजना अधिकारीले बताइन्।
आयोजनाअन्तर्गत ७.५ किलोमिटर सूर्यविनायक–साँगा सडकखण्ड ३ अर्ब ८८ करोड ९३ लाख रूपैयाँ र साँगा–धुलिखेल ८.३ किलोमिटर सडकखण्ड ४ अर्ब ५ करोड ६४ लाख रुपैयाँमा विस्तारका लागि ठेक्का सम्झौता भएको थियो। ठेक्का सकिन अब एक वर्षभन्दा कम समय बाँकी छ। काम भने आधा पनि भएको छैन।
सूर्यविनायक धुलिखेल सडक विस्तार आयोजनका प्रमुख राजेन्द्रकुमार दास निर्धारित समयमै काम सम्पन्न गरिसक्ने दाबी गर्छन्। उनी भन्छन्, “धेरै काम भइसकेको छ। अहिले कल्भर्ट र सर्भिस लेन खोल्ने काम भइरहेको छ। एकदुई ठाउँमा जग्गाका कारण समस्या होला। केही रोकावट आएन भने समयमै सिद्ध्याउँछौँ।”
अहिले सडकको दायाँबायाँ पर्खाल लगाउने तथा नाली र कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको छ। यही सडकखण्डमा बन्ने तीन वटा पुलको ठेक्का पनि लगाइसकेको दास बताउँछन्। उनका अनुसार जगाती र महादेवखोलाको डिजाइन स्वीकृत भएर निर्माण शुरू हुन लागेको छ भने पुन्यमती खोलाको डिजाइन स्वीकृतिकै प्रक्रियामा छ।
नागढुंगा—मुग्लिङ सडकमा सधैँ जोखिम
काठमाडौँलाई देशको पूर्व र पश्चिमका जिल्लासँग जोड्ने त्रिभुवन राजपथको नौबिसे—नागढुंगा र पृथ्वी राजमार्गको नौबिसे—मुग्लिङ सडकखण्ड हुन्। तर नौबिसे–मुग्लिङ खण्ड दुरुस्त छैन। गत असोजमा यो खण्डमा पर्ने झ्याप्लेखोलामा पहिरोले तीन वटा गाडी पुरिँदा ३५ जनाको मृत्यु भयो।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ठूला मालवाहक सवारी, रात्रि बससहित दैनिक करिब १० हजार सवारी यो सडकमा गुड्छन्। सडकको अवस्थाका कारण यात्रु तथा सवारीले सधैँ जोखिम र हैरानी बेहोर्नु परिरहेको नेपाल यातायात व्यवसायी महासंघका महासचिव डेकनाथ गौतम बताउँछन्। “सडक बिग्रिएका कारण सवारी चालक र यात्रुले घण्टौँ कुर्नुपर्ने अवस्था छ,” उनी भन्छन्, “पाँच घण्टा लाग्ने बाटोमा ९ घण्टासम्म लाग्छ। यातायात व्यवसायीको लागत बढेको छ। यात्रुहरूले पनि दुःख बेहोर्नुपरेको छ।”
उक्त सडकखण्डमा मर्मत र ‘अपग्रेडिङ’ आगामी वर्षायामसम्म पनि सकिने देखिँदैन। नागढुंगा–मुग्लिङ पूर्वीखण्डका सडक आयोजना प्रमुख केवशप्रसाद ओझा पूर्वीखण्डलाई दुई भागमा विभाजन गरेर कालोपत्रे र अपग्रेडिङ भइरहेको बताउँछन्।
पहिलो खण्डको नागढुंगा–नौबिसे १२.२ किलोमिटरमध्ये पाँच किलोमिटर कालोपत्रे भइसकेको छ। बाँकी सात किलोमिटर कालोपत्रे गर्न बाँकी छ। यो खण्ड निर्माणका लागि २०७८ चैतमा जियाङ्सु सगुन जेभीले ठेक्का लिएको थियो। समयमा काम सम्पन्न गर्न नसकेपछि २०८१ माघसम्मका लागि समयावधि थपिएको थियो।
तर अहिलेसम्म ६५ प्रतिशत मात्रै काम सकिएको छ। सडक विस्तारमा मुआब्जालगायत समस्या भएको आयोजना प्रमुख ओझा बताउँछन्। आगामी असार मसान्तसम्म यो खण्ड निर्माण सक्ने योजना रहेको उनको भनाइ छ। उनी भन्छन्, “केही ठाउँमा जग्गाका कारण काममा बाधा छ। कतै पहाडको कटिङ, टर्निङ फराकिलो बनाउँदा ढिला भएको छ।”

दोस्रो भाग नौबिसे—मलेखु खण्डको लम्बाइ ४३.५ किलोमिटर छ। यो सडक विस्तारका लागि शर्मा—लामा—जेटआईसीजी जेभीले तीन वर्षमा सक्ने गरी २०७९ वैशाखमा ठेक्का लिएको थियो। तर यसको भौतिक प्रगति २८ प्रतिशत मात्रै छ। यो सडकमा पनि विभिन्न ठाउँमा कल्भर्ट निर्माण गर्नुपर्ने भएकाले ढिलाइ भएको ओझा बताउँछन्। यस आर्थिक वर्षमा १६ किलोमिटर कालोपत्रे गर्ने लक्ष्य छ।
मलेखुदेखि मुग्लिङसम्मको ३८.८६ किलोमिटरलाई पश्चिम खण्डमा राखिएको छ। यहाँ पनि अहिले स्तरोन्नति भइरहेको छ। कल्भर्ट निर्माण र घुम्ती फराकिलो बनाउन लागिएको सडक विभागले जनाएको छ।
तर सडक मर्मतमा ढिलाइ हुँदा चालक र यात्रुलाई जोखिम छ। झ्याप्ले खोला, कृष्णभीरलगायत ठूलो पहिरो आउने ठाउँ पनि छन्। झ्याप्लेखोला र कृष्णभीरमा पहिरोका कारण नयाँ डिजाइन बनाएर सडकको स्तरोन्नति गर्न लागिएको भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्मा बताउँछन्।
अन्य सडकको पनि अवस्था उस्तै
काठमाडौँ—दक्षिणकाली हुँदै हेटौँडा जाने सडक ठाउँ–ठाउँमा भत्किएको छ। बाढीले क्षति पुर्याएको सिस्नेरी खण्ड अझै बन्न सकेको छैन। गत असोजको बाढीले धेरै ठाउँमा सडक बगाएको छ। ती ठाउँमा अस्थायी संरचनाबाट सवारी चलाइएको छ।
हेटौँडा जाने कान्ति लोकपथ पनि ठाउँ–ठाउँमा अस्थायी संरचना बनाएर चलाइएको छ। संघीय सडक सुपरिवेक्षक तथा अनुगमन कार्यालय प्रमुख न्यौपाने यी सडक पनि मर्मत भइरहेको बताउँछन्। “कान्तिलोक पथमा बगाएको बेलिब्रिज बनाउने छौँ। त्रिभुवन राजपथअन्तर्गतको सडकमा भने सवारी आवतजावत भइरहेको छ। दक्षिणकाली हुँदै हेटौँडा जाने सडक प्रदेशले हेर्ने भएकाले हामीले केही गर्दैनौँ,” उनी भन्छन्।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव शर्मा आगामी जेठ–असारसम्ममा धेरै काम सम्पन्न भइसक्ने दाबी गर्छन्। उनी भन्छन्, “कतिपय ठाउँमा नयाँ डिजाइन र घुम्तीमा फराकिलो बनाउँदा ढिला भयो। अलि अप्ठेरो भनेको बीपी राजमार्गमा हो। त्यहाँ थोरै ठाउँमा समस्या भएकाले डाइभर्सन बनाएर चलाउँछौँ। अन्यत्र कच्ची भए पनि आवतजावत रोकिने अवस्था रहँदैन।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
