माघ अन्तिम सातासम्म पनि तराईमा हुस्सुले छाडेको छैन। हिउँदमा हुस्सु लाग्नु स्वाभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन्।
महोत्तरी– यस वर्षको सिंगो हिउँद पानी नपरी बित्न लाग्दा किसान निराश छन्। वसन्तपञ्चमी पर्व मनाइसक्दासम्म पानी पर्ने चालचुल नदेखेपछि महोत्तरीका किसान हिउँदेबाली उत्पादन नहुने चिन्ताले पिरोलिएका छन्।
“हिउँद पानी नपरी बित्यो,” बर्दिबास–९ टोकीटोलका ६० वर्षीय किसान रामचन्द्र थापा मगरले भने, “खै हिउँदे बाली राम्ररी भित्र्याउन पाइएला जस्तो छैन।” कुलोको स्थायी सिँचाइको प्रबन्ध नभएको आफ्नो ठाउँमा इनारको पानी मोटरले तानेर बाली सेचन गर्ने गरिएको उनको भनाइ छ। यसपालि अहिलेसम्म हिउँदे वर्षा नहुँदा इनारमा पानीको सतह गहिरिँदै गएर मोटरबाट पानी तान्न नसकिने अवस्था बनेको थापासहित टोकीटोलका किसानको चिन्ता छ।
माघ अन्तिम साता लागि सक्दा हुस्सुले छाडेको छैन। हिउँदमा हुस्सु लाग्नु स्वाभाविक भए पनि माघ लागेपछि घाम तात्दै जाने पुरानो मौसमको थिति खलबलिएको किसान बताउँछन्। “आकाश धुम्मिएको धुम्मियै छ, पानी पर्न सकेको छैन,” बर्दिबास–७ का ७० वर्षीय विन्देश्वर यादवले भने, “खेतबारीमा तरकारी बाली हुस्सुले कक्रिएको छ। पानी नपरेर माटो रुखिएको छ।”
भंगाहा–४ रामनगरका ७५ वर्षीय इस्लाम राइनले भने, “यो हामीले पहिले देखे भोगेभन्दा फरक हुँदैछ।” एक दशक अघि सम्मका ऋतुपिच्छेका मौसममा गरिने अड्कल अब मेल खान छाडेको राइनकै छिमेकी जव्वार शेषले बताए। हिउँदे पानी नपर्दा गहुँ, उखु र दलहन बाली राम्ररी बढ्न सकेको छैन। यसैगरी भण्टा, रामतोरीया, खुर्सानीलगायत तरकारी पानी नपर्दा ओइलिन लागेका छन्। माटोमा चिस्यान नहुँदा पर्खनुको विकल्प नरहेको गौशाला–११ का भोगेन्द्र महतोको भनाइ छ।
हिउँदे वर्षा जमिन भिजाउने मात्र नभई बालीनालीका लागि अत्यन्त पोसिलो हुने किसान बताउँछन्। भर्खरै हुर्किँदै गरेका वैशाखी लहरे तरकारी, उखु, आँपसहितका फलका रुख हिउँदे वर्षा पाएपछि लहलहाउने पाका किसानको अनुभव छ। तर, यसपाली वर्षा नै नभई हिउँद बित्दै गएपछि यी बालीबाट अपेक्षित उत्पादन लिन नसकिने किसानमा चिन्ता बढेको छ।
हिउँदमा पानी नपरेपछि खानेपानीका स्रोतहरु इनार, चापाकल गर्मी चढेसँगै चाँडै सुक्ने छन्। खानेपानीको हाहाकार पर्नसक्ने बर्दिवास–१२ बिजलपुराका ६५ वर्षीय किसान रामविलास सिंहले बताए। हिउँदमा पानी नपरेपछि अहिले माघ नसकिँदै खोल्साखोल्सी सुकी सकेका छन्। सदाबहार भुल्के (जरुवा) पानीको मुहानमा पानी देखिन छाडेको छ। हिउँदे वर्षा नभएपछि फलका रुखमा मज्जर (मञ्जरी) कम लाग्ने, मज्जर धेरै झर्ने र मधुवारोगको प्रकोप बढ्ने चिन्ता छ।
हिउँदमा पानी पर्दा बालीनालीमा रोगको प्रकोप कम हुने र बाली हलक्क बढ्ने किसानको अनुभव छ। हिउँदे सम्यक वर्षा बालीनालीलाई अमृत नै हुने औरही–७ का मोहन महतोले बताए। “हिउँदे वर्षा सिँचाइ मात्र हैन, बालीको पोषण र रोग प्रतिरोधका लागि रामवाण (बिस्तुर नजाने) हुन्छ,” उनले भने।
महोत्तरीको कूल ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशत मात्र कुलो लाग्ने छ। यस्ता जग्गामा पुगेका कुलोको पानीका स्रोतका मुहान पनि हिउँदे वर्षा नभएपछि सुक्दै गएका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
