आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन काठमाडौँ उपत्यकामा वर्षा नहुने बताएको छ।

मौसमविद् विनु महर्जनका अनुसार तीन दिनसम्म काठमाडौँ उपत्यकामा पानी पर्ने सम्भावना छैन भने यहाँको आकाशमा आंशिक रूपमा बादल लाग्नेछ । 

बुधबार बिहान ५ः४५ बजे काठमाडौँको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस रहेको तथा दिउँसो अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसबीच रहने छ।

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले जनाएको छ। तराई भागका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ।

महाशाखाका अनुसार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ। कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भागमा हल्का हिमपातको सम्भावना  छ।

त्यसैगरी, राति पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सफा रहनेछ। कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।