सैन्य विमानमार्फत अमेरिकाले १०४ जना भारतीयलाई गर्‍यो ‘डिपोर्ट’

अवैध आप्रवासीलाई देशनिकाला गर्न सैन्य विमान प्रयोग गरिएको देशमा भारत पनि परेको छ। यसअघि ग्वाटेमाला, पेरु र होन्डुरसका अवैध आप्रवासीलाई यसैगरी देशनिकाला गरिएको थियो।

अमेरिकी प्रशासनले १०४ जना भारतीयलाई सी–१७ सैन्य विमानमार्फत देशनिकाला (डिपोर्ट) गरेको छ। अवैध भारतीय आप्रवासी बोकेको अमेरिकी सैन्य विमान बुधबार दिउँसो अमृतसरको श्री गुरु रामदास जी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन्। 

टाइम्स अफ इन्डियाका अनुसार देशनिकाला गरिएका व्यक्तिहरूमध्ये पञ्जाबका ३०, हरियाणा र गुजरातका ३३-३३, महाराष्ट्र र उत्तर प्रदेशका तीन-तीन र चण्डीगढका दुई जना छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पछिल्ला दुई हप्तामा सैन्य विमान प्रयोग गरेर ग्वाटेमाला, पेरु र होन्डुरसका अवैध आप्रवासीहरूलाई देशनिकाला गरेको छ। अवैध आप्रवासीलाई देशनिकाला गर्न सैन्य विमान प्रयोग गरिएको देशमा भारत पनि परेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका भ्रमणमा जान केही दिन बाँकी छँदै अमेरिकाले अवैध भारतीय आप्रवासीलाई देशनिकाला गरेको हो। समाचारअनुसार, प्रधानमन्त्री मोदी फेब्रुअरी १२-१३ मा वासिंगटनको भ्रमण गर्ने बताइएको छ।

गत हप्ता, प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन वार्ताको क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोले त्यहाँ बसोबास गर्ने अवैध भारतीय आप्रवासीहरूको बारेमा चिन्ता व्यक्त गरेका थिए।

पछि, पत्रकारहरूसँग कुरा गर्दै डोनाल्ड ट्रम्पले भनेका थिए, "हामी आशा गर्छौं कि भारतले कागजात बिना अमेरिकामा बसोबास गर्ने भारतीयहरूको सम्बन्धमा उपयुक्त कदम चाल्नेछ।"

अमेरिकाले भारतसँगको वार्तालाई रचनात्मक बताएको थियो र ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेब्रुअरीमा अमेरिका भ्रमण गर्न सक्ने बताएका थिए। 

अमेरिकी अध्यागमन र भन्सार प्रवर्तन विभाग (आईसीई) का अनुसार तत्काल करिब १८ हजार भारतीय अमेरिकाबाट देशनिकाला गर्नुपर्ने सूचीमा छन्।