आनुवंशिक सम्पादन गरेर विश्वकै पहिलो सुपर घोडा तयार

अर्जेन्टिनाका वैज्ञानिकहरूले आनुवंशिक सम्पादन (जिन इडिटिङ) गरेर तयार पारेका यी घोडाहरूलाई पोलो खेल्नमा प्रयोग हुने विशेष घोडाको उन्नत संस्करण बताएका छन्।

काठमाडौँ– अर्जेन्टिनाका वैज्ञानिकहरूले आनुवंशिक सम्पादन (जिन इडिटिङ) गरेर विश्वकै पहिलो सुपर घोडा तयार पारेका छन्।

उनीहरूले अर्जेन्टिनाको पुरस्कार विजेता घोडी पोलो पुरेजाको जिनलाई पाँच वटा आनुवंशिक रूपमा सम्पादन गरिएका घोडाहरूमा राखेका हुन्। यी घोडाहरूलाई पोलो खेल्नमा प्रयोग हुने विशेष घोडाको उन्नत संस्करण हुने विश्वास गरिएको छ।

अर्जेन्टिनाको बायोटेक फर्म खेइरोनका वैज्ञानिकहरूले सीआरआईएसपीआर–सीएएस९ नामक प्रविधि प्रयोग गरेर यी घोडाहरू विकास गरेका हुन्। गत अक्टोबर र नोभेम्बरमा जन्मिएका यी घोडा आफ्ना पुर्खाभन्दा पनि आकर्षक छन्। मांसपेशी पनि कसिलो छ।

“हामी तिनीहरूको जन्म हुनुभन्दा पहिले नै तिनीहरूको जीनोम डिजाइन गर्छौँ,” रोयटर्ससँगको कुराकानीमा खेइरोनका सहसंस्थापक र वैज्ञानिक निर्देशक गेब्रियल भिचेराले भने। साथै उनले अर्जेन्टिनाको वर्तमान नियमहरूको पालना गर्दै आनुवंशिक डोपिङ वा आनुवंशिक रूपमा परिमार्जित जीवहरूको रूपमा तयार नगरिएको बताए।

“हामीले कुनै कृत्रिम कुरा आविष्कार गरिरहेका छैनौं, बरु हामी त्यो प्राकृतिक क्रम लिइरहेका छौं र यसलाई अर्को प्राकृतिक घोडामा परिचय गराइरहेका छौँ, जुन प्रकृतिले गर्छ, तर हामी यसलाई छिटो गर्छौ‍ं,” भिचेराले भने।

यस प्रविधिले वैज्ञानिकहरूलाई कुनै पनि घोडाको जीनोम समायोजन गर्न सक्षम बनाउने उनले बताए। साथै उनले सुँगुरलाई परिमार्जन गर्ने काम पनि भइरहेको बताए। यसो भएमा तिनीहरूका अंगहरू मानिसमा प्रत्यारोपणको लागि उपयुक्त हुन सकिने उनको भनाइ छ।