प्रसूति व्यथा लागेको १८ घण्टापछि उद्धार

संखुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि एक महिलालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। 

फाइल तस्वीर

संखुवासभा– संखुवासभाको भोटखोला गाउँपालिका–४ नामासेबाट प्रसूति व्यथा लागेको १८ घण्टापछि एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। 

प्रसूति व्यथा लागेको १८ घण्टापछि भोटखोला–४ नामासे की ३६ वर्षीया याङजम भोटेलाई बिहीबार राष्ट्रपति महिला उत्थान  कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो। जिल्लाको उत्तरी क्षेत्रमा पर्ने यो स्थान अझै यातायातको पहुँच पुगेको छैन।

प्रसूति व्यथापछि बुधबार नामासे सामुदायिक स्वास्थ्य इकाईमा भर्ना भएकी भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको भोटखोला गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फुर्पु भोटेले जानकारी दिए। 

प्रसूति व्यथा लागेको १८ घण्टापछि भोटेलाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँको थापाथली प्रसूति गृहमा पठाइएको उनले बताए। सरकारले दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीलाई हवाई उद्धार गरी तोकिएका अस्पतालमा पुर्‍याउने व्यवस्था मिलाउने गरेको छ।

भौगोलिक विकटताका कारण यहाँ नजिक बर्थिङ सेन्टर र स्वास्थ्य चौकीमा शल्यक्रियासहितको सुविधा छैन। यही कारण जिल्लामा गम्भीर अवस्थाका गर्भवती तथा सुत्केरीको उपचार समस्या हुँदै आएको छ। 

जिल्लामा हवाई उद्धार कार्यक्रमअन्तर्गत विसं २०७७ देखि हालसम्म २४ जनाभन्दा बढी सुत्केरी तथा गर्भवतीको हवाई उद्धार गरिएको जिल्ला स्वास्थ्य कार्यालयकी भवानी तिम्सिनाले बताइन्। उद्धार गरिएका अधिकांश सुत्केरी तथा गर्भवती १७ वर्षदेखि ३६ वर्ष उमेरसमूहका रहेका उनले बताइन्।