व्यासको केशवटार माविमा मगर भाषाको पढाइ

नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ। नेपाल मगर संघसँगको सहकार्यमा स्थानीय पाठ्यक्रम निर्माण गरिएको छ।

दमौली– तनहुँको व्यास नगरपालिका–१४ केशवटारस्थित केशवटार माध्यमिक विद्यालयमा पहिलो पटक मगर भाषाको पढाइ शुरू भएको छ। व्यास नगरपालिका र नेपाल मगर संघ नगर समितिको समन्वयमा मगर भाषाको पढाइ शुरू गरिएको हो।

नेपाल मगर संघले बनाएको नीति र स्थानीय पाठ्यक्रमअनुसार कक्षाहरू सञ्चालन गरिएको छ। केशवटार माविको कक्षा १ मा मगर भाषाको पढाइ थालिएको हो। मगर भाषाको पाठ्यक्रम र पाठ्यपुस्तकको कार्यान्वयनको शुभारम्भ नगरप्रमुख वैकुण्ठ न्यौपानेले गरे। 

मगर भाषाको पढाइ सञ्चालनका लागि नगरपालिकाकै सहयोगमा पहिलो चरणमा शिक्षकलाई पाँच दिनको तालिम प्रदान गरिएको थियो। मगर भाषा संरक्षणका लागि नगरपालिकाले मगर समुदायको बाहुल्यता भएका विद्यालयमा मगर भाषामा पढाइ सञ्चालन गर्ने नीति लिएको छ।

तालिम प्राप्त शिक्षकले विद्यालयमा मगर भाषामा कक्षा सञ्चालन गर्नेछन्। पठनपाठनलाई सहज बनाउन र प्रभावकारी बनाउन विशेष तालिम प्रदान गरिएको थियो। यस प्रक्रियाले भाषा संरक्षणमा मद्दत पुर्‍याएको र सिकाइमा प्रभावकारिता ल्याएको नेपाल मगर संघका केन्द्रीय निर्वाचन समितिका संयोजक सिद्धान्त थापाले बताए।

मगर भाषाको पाठ्यक्रमबारे यामबहादुर आले, इन्द्रबहादुर आले, अमर थापा, नन्दु थापा, यामलाल थापा, तिलबहादुर थापा र अनुराज थापाले प्रशिक्षण दिएका थिए।