बालयौन दुरुपयोगमा मदन राईलाई साढे २ वर्ष कैद र १ लाख जरिबाना

बालयौन दुरुपयोगको आरोपमा दोषि ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले शुक्रबार सजाय सुनाएको हो।

मदन राई

काठमाडौँ– बालयौन दुरुपयोगको आरोपमा दोषि ठहर भएका मदन राईलाई जिल्ला अदालत खोटाङले शुक्रबार सजाय सुनाएको छ।

अदालतका न्यायाधीश नारायणप्रसाद दाहालको इजलासले राईलाई साढे दुई वर्ष कैद र एक लाख रुपैयाँ जरिबानाको सजाय सुनाएको हो। यसका साथै पीडितलाई डेढ लाख रुपैयाँ क्षतिपूर्ति भराउन र पीडित राहत कोषमा ४ हजार रुपैयाँ राख्न पनि फैसला भएको अदालतका सूचना अधिकारी सुदिपकुमार भट्टराईले बताए।

“उनीविरुद्ध दायर बालयौन दुरुपयोग मुद्दामा नैतिक पतन देखिने गरी कसूर ठहरिएको हो,” उनले भने।

यही माघ १० गते दोषी ठहर भएका राईलाई सजाय निर्धारणका लागि आजको पेसी तोकिएको थियो। 

आफैले सञ्चालन गरेको सुभद्रा मदन फाउन्डेसनका बालिका र किशोरीलाई यौन दुरुपयोग गरेको आरोपसहित उनीविरुद्ध वि.स. २०८० जेठ २१ गते मुद्दा दर्ता भएको थियो।