जंगली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आए पनि यसको समाधान भने हुन सकेको छैन।
महोत्तरी– महोत्तरीको उत्तरी भेगका वनक्षेत्र नजिकका बस्तीमा जंगली हात्तीले उपद्रो मच्चाएको छ। पूर्वपश्चिम राजमार्गक्षेत्र दायाँबायाँका वन नजिकका बस्तीमा पछिल्ला तीन दिनयता जंगली हात्तीको उपद्रो बढेको हो।
गौशाला र बर्दिबास नगरपालिका क्षेत्रका बस्तीमा समूहमा पसेका जंगली हात्तीले उपद्रो मच्चाएका छन्। तीन वटाको समूहमा बस्ती पस्ने हात्तीले मध्यरातपछि उपद्रो मच्चाउने गरेको बर्दिबास–५ गणन्ताका ८५ वर्षीय धनबहादुर स्याङ्वाले बताए। यसपालि पछिल्लो एक सातादेखि दिनभरि वनक्षेत्रमा लुकेर राति बस्ती पस्ने हात्तीले बर्दिबास नगरक्षेत्रभन्दा गौशालामा बढी क्षति गरेको छ।
बिहीबार रातीमात्र हात्तीले गौशाला–८ ढल्केबरमा सातवटा गोठघर भत्काइ दिएको छ। गज, ढोइ र छावासहितको हात्तीको समूहले सागरनाथ वनविकास परियोजनाको प्लटसँगै जोडिएका गौशाला–८ का पाँचभन्दा बढी बस्तीमा उखु, केरा, कोवी, मकै र गहुँसहितका बाली उखेल्ने, माड्ने गरेर क्षति पुर्याएको छ। जंगली हात्तीको समूह बिहानपख बर्दिबास–५ को सोनापेटी, ढुङ्ग्रे र खयरमाराका दक्षिणीटोल पसेको स्थानीयले बताएका छन्।
अधिकांश मध्यरातपछिको समयमा हात्ती बस्ती पस्ने गरेको र बिहान चार बजेअघि नै वनक्षेत्रको सुरक्षित बासस्थानतिर जाने गरेको गौशाला–८ ढल्केबरकै मीन रहपालले बताए। गत आइतबारयता हात्तीको समूहले आफ्नो वडाका विभिन्न बस्तीमा गरी १० बिघा बढीको बालीनाली सखाप पारेको गौशाला–८ का वडाअध्यक्ष भोजबहादुर दर्लामीको भनाइ छ।
जंगली हात्तीले बर्सेनीजसो बर्दिबास र गौशालाका बस्तीमा उपद्रो मच्चाउँदै आए पनि यसको समाधान भने हुन सकेको छैन। हात्तीले गत वर्ष हिउँदमा बर्दिबास–३ पाटुमा दुई वटा घर नै लडाएर बिचल्ली बनाएको थियो। त्यसअघि हात्तीले बर्दिबास–३ कै पर्साहीधाप र रजबासका सात घर भत्काएको पीडितले अझै बिर्सेका छैनन्।
यसपालि सर्लाहीतिरबाट महोत्तरी पसेको हात्तीले एक साताअघि छिमेकका सर्लाहीका बस्तीमा बालीनाली निकै क्षति गरेको थियो। कहिले सिन्धुलीतिरबाट चुरे कटेर महोत्तरी पस्ने हात्तीले धनुषाको मिथिला नगरपालिकाको ढल्केबर सिरानका बस्तीसम्म उपद्रो मच्चाउने गरेको छ। पाँच वर्षअघि त हात्तीले ढल्केबरमा घर भत्काएर मान्छेलाई सुँडले तान्दै पछारेर मारेको जनाइएको छ।
यी जंगली हात्ती आफ्नो पुरानो बाटोमै हिँड्ने गरेका वन्यजन्तुविज्ञको भनाइ छ। तर पछिपछि हात्तीका पुराना बाटा फाँडिएर घर बनेपछि त्यस्तै ठाउँ नजिक हात्तीको उपद्रो बढ्ने गरेको छ। हात्तीको बाटो एकअर्को पुस्तासँग जोडिँदै आउने गरेको विज्ञ बताउँछन्। अहिले बाबुआमासँग आएको छावा पछि यही बाटो अनुसरण गर्ने र त्यसपछि ऊसँग हिड्नेसँग बाटोको सम्बन्ध जोडिँदै जाने परम्परा बसेको हेमन्तप्रसाद साहले बताए।
अहिले हात्तीको उपद्रो बढेका बेला तत्काल वनसम्बद्ध कार्यालय र वन सुरक्षाकर्मीले यसको कुशल व्यवस्थापनको चाँजो मिलाउन पर्ने बर्सेनीजसो क्षति पुर्याउँदै आएको बर्दिबास–३ का वडाअध्यक्ष विराटकुमार विष्टको भनाइ छ।
डिभिजन वन कार्यालय महोत्तरीका प्रमुख अजयकुमार मिश्रका अनुसार मातहतका सबै सवडिभिजन वन कार्यालय र वनसुरक्षा गस्तीलाई सचेतता अपनाउन र बस्ती पस्ने हात्ती धपाउने कार्यमा स्थानीयसँग सहकार्य गर्न भनिएको छ। यसबारे नजिकको पर्सा वन्यजन्तु आरक्षण केन्द्रलाई यसबारे जानकारी गराइने मिश्रले बताए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
