खानेपानी मन्त्रालयमा लागेको आगो नियन्त्रणमा

घटना शंकास्पद रहेकाले मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ।

काठमाडौँ– खानेपानीमन्त्री प्रदीप यादवको कार्यकक्षमा आगलागी भएको छ।

सिंहदरबार प्रहरीका अनुसार मन्त्रालयको चौथो तलामा शनिबार बिहान भएको आगलागीमा मन्त्रीको कार्यकक्षसहित तीन वटा कोठामा रहेका कार्पेट, टेबल, कुर्सी र झ्यालमा लगाइएका पर्दासमेत जलेका छन्।

आगो लाग्ने बित्तिकै थाहा भएका कारण प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले वारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको जानकारी दिए। 

मन्त्रालयका दुई जना कर्मचारीलाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ शुरू गरेको छ। आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन। आगलागीको क्षतिको विवरणसमेत आइसकेको छैन।