प्रदेशको बजेट खर्च: ६ महिनामा १६ प्रतिशत

तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ। पुस मसान्तसम्म कोशी प्रदेशले २४.८५ प्रतिशत बजेट खर्च गरेको छ। मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको ६ महिनामा प्रदेशहरूको बजेट खर्च निराशाजनक देखिएको छ।

सरकारले सार्वजनिक गरेको अर्धवार्षिक मूल्यांकन प्रतिवेदनअनुसार हालसम्म प्रदेशको बजेट खर्च वार्षिक लक्ष्यको १६.१८ प्रतिशत मात्रै छ। २ खर्ब ७८ अर्ब ६९ करोड २४ लाख रुपैयाँको बजेट ल्याएका प्रदेश सरकारले पुस मसान्तसम्म ४५ अर्ब ९ करोड ३८ लाख रुपैयाँ मात्रै खर्च गरेका हुन्।

मधेश प्रदेशको बजेट खर्च सबैभन्दा कमजोर देखिएको छ। चालु आवका लागि ४३ अर्ब ८९ करोड २२ लाख रुपैयाँ बजेट ल्याएको मधेशले पुस मसान्तसम्म २ अर्ब ४६ करोड २ लाख रुपैयाँ मात्रै खर्च गरेको छ। यो वार्षिक विनियोजनको ५.६१ प्रतिशत हो। पुँजीगत शीर्षकमा २७ अर्ब ८९ करोड छुट्याएको मधेशले उक्त विनियोजनको १ प्रतिशत मात्रै खर्च गरेको छ।

सुदूरपश्चिम प्रदेशले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १४.८२ प्रतिशत मात्रै खर्च गरेको छ। ३१ अर्ब ६२ करोड १९ लाख रुपैयाँ बजेट ल्याएको सुदूरपश्चिमले पुस मसान्तसम्म ४ अर्ब ६८ करोड ७० लाख रुपैयाँ खर्च गरेको छ। 

त्यसैगरी कर्णाली प्रदेशले १५.१४ प्रतिशत खर्च गरेको छ। ३१ अर्ब ४१ करोड रुपैयाँ बजेट ल्याएको कर्णालीले पुस मसान्तसम्ममा ४ अर्ब ७५ करोड ४७ लाख रुपैयाँ खर्च गरेको छ। लुम्बिनी प्रदेशले ३८ अर्ब ९७ करोड रुपैयाँको वार्षिक बजेट ल्याएको थियो। लुम्बिनीले अर्धवार्षिक समीक्षा अवधिसम्ममा वार्षिक विनियोजनको १९.३६ प्रतिशत खर्च गरेको छ।

गत पुस मसान्तसम्ममा गण्डकी प्रदेशको बजेट खर्च वार्षिक विनियोजनको १९.३६ प्रतिशत छ। ३२ अर्ब ९७ करोड ८६ लाख रुपैयाँ वार्षिक बजेट ल्याएको गण्डकी प्रदेशले पुस मसान्तसम्म ६ अर्ब ३८ करोड ४७ लाख रुपैयाँ खर्च गरेको हो।

प्रदेशगत रूपमा चालु आवका लागि बागमती प्रदेशले सबैभन्दा ठूलो आकारको बजेट ल्याएको थियो। ६४ अर्ब ५४ करोड चार लाख रुपैयाँ बराबरको वार्षिक बजेट ल्याएको बागमतीले अर्धवार्षिक समीक्षा अवधिसम्ममा १६.२७ प्रतिशत अर्थात् १० अर्ब ५० करोड २९ लाख रुपैयाँ बराबर मात्रै खर्च भएको छ।

तुलनात्मक रूपमा कोशी प्रदेशको बजेट खर्च सबैभन्दा राम्रो देखिएको छ। पुस मसान्तसम्म कोशी प्रदेशले २४.८५ प्रतिशत बजेट खर्च गरेको छ। चालु आवका लागि कोशी प्रदेशले ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएकोमा ८ अर्ब ७६ करोड ८२ लाख रुपैयाँ बराबर खर्च गरेको छ।

मधेश र लुम्बिनीबाहेक सबै प्रदेशले चालु आवका लागि वित्तीय व्यवस्था शीर्षकमा बजेट ल्याएका थिए। तर कुनै पनि प्रदेशले यो शीर्षकको बजेट खर्च गर्न सकेका छैनन्। वित्तीय व्यवस्था शीर्षकको सबै प्रदेशको बजेट खर्च शून्य छ।