हमासले छाड्यो थप ३ इजरायली बन्धकलाई, बदलामा १८३ प्यालेस्टिनी कैदी रिहा

गाजा युद्धविराम सम्झौताअन्तर्गत शनिबार थप तीन इजरायली बन्धक रिहा भएका छन् भने बदलामा इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई छाडेको छ।

सन् २०२३ अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणमा अपहरण गरिएका थप तीन इजरायली बन्धक शनिबार रिहा भएका छन्। बदलामा इजरायलले विभिन्न समयमा पक्राउ गरी इजरायली जेलमा राख्दै आएका १८३ कैदीलाई रिहा गरेको छ।

शनिबार रिहा भएका तीन इजरायली बन्धकहरूमा ५६ वर्षीय ओहाद बेन अमी, ५२ बर्षीय एली शाराबी र ३४ बर्षीय या लेवीलाई शनिबार नै उनीहरूको परिवार र आफन्तको जिम्मा लगाइएको छ।

हमासले रिहा गरिएका बन्धकलाई गाजाको देइर अल–बलाह शहरको तोकिएको हस्तान्तरण स्थलबाट अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी)को जिम्मा लगाएको हो।

कमजोर र थकित देखिएका तीनै जना बन्धकलाई मञ्चबाट आफ्ना अनुभव र रिहाइबारे बोल्नका लागि हमासले निर्देशन दिएपछि उनीहरूले संक्षिप्त भनाइ राखेका थिए। त्यसपछि हमासको सैन्य शाखा अल–कासम ब्रिगेडले आईसीआरसीलाई सुम्पिएको थियो।

आईसीआरसीको टोलीले उनीहरूलाई इजरायली सीमामा तैनाथ इजरायली रक्षा बल (आइडीएफ)समक्ष स्थानान्तरण गरिएको थियो।

इजिप्ट र कतारको मध्यस्थता र अमेरिकाको समन्वयमा हमास र इजरायलबीच युद्धविराम सम्झौताको पहिलो चरणअन्तर्गत बन्धक–कैदी अदलाबदलीको यो पाँचौँ समूह हो।

यसैबीच, इजरायलले शनिबारदेखि नै थप इजरायली जेलबाट थप १८३ जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ। गाजा युद्धविराम सम्झौताअन्तर्गत इजरायलले १८३ प्यालेस्टिनी कैदीलाई रिहा गरेको हो।

प्यालेस्टिनी प्रिजनर्स क्लबका प्रमुख अब्दुल्लाह अल–जाघारीका अनुसार रिहा गरिएका कैदीहरूलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिको बसबाट रामल्लाह ल्याइएको थियो। टिभीमा प्रसारित फुटेजमा रिहा भएका प्यालेस्टिनीलाई शहरको एक चोकमा ठूलो भीडले स्वागत गरेको देखिन्छ।