आपलाई हराउँदै २७ वर्षपछि दिल्लीको सत्तामा फर्कियो भाजपा

दिल्लीमा पुनरागमनको आशामा रहेको कांग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको कांग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ।

भारतीय जनता पार्टी (भाजपा) शनिबार दिल्ली राज्यको विधानसभा चुनावमा ऐतिहासिक जनादेश प्राप्त गर्दै आम आदमी पार्टी (आप)लाई पराजित गरेर २७ वर्षपछि सत्तामा फर्किएको छ। दिल्लीका पूर्वमुख्यमन्त्री अरविन्द केजरीवालसहित आपका कैयौँ शीर्ष नेता यो निर्वाचन पराजित भएका छन्।

भाजपा नेतृत्वको गठबन्धनले महाराष्ट्र र हरियाणामा विजय हासिल गरेको केही महिनापछि दिल्लीका जनताले भाजपाको पक्षमा दुई तिहाइभन्दा बढी सिटसहित प्रतिनिधित्व गर्ने जिम्मेवारी दिएका हुन्।

शनिबार साँझसम्म भाजपाले दिल्लीमा ७० सिटमध्ये ४५ सिट जितेको छ भने तीन सिटमा अग्रता लिएको छ। आपले २१ सिट जितेको छ भने एक सिटमा अग्रता लिएको छ।

संघीय राजधानी दिल्लीमा पुनरागमनको आशामा रहेको कांग्रेसले फेरि कुनै पनि सिट जित्न सकेन। सन् १९९८ देखि १५ वर्षसम्म दिल्लीमा शासन गरेको कांग्रेसले विधानसभा चुनावमा प्रतिनिधित्वविहीन भएको छ।

सुशासनको जित: मोदी
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भाजपाको विजयको प्रशंसा गर्दै केन्द्र र राज्यमा भाजपाको ‘सुशासन’को विजय भएको बताएका छन्।

उनले दिल्लीको विकास र जनताको समग्र जीवनस्तर उकास्न पार्टीले कुनै कसर बाँकी नराख्ने बताए। “जनशक्ति सर्वोपरि छ! विकासको जित हुन्छ, सुशासनको जित हुन्छ,” प्रधानमन्त्री मोदीले भने, “यो शानदार र ऐतिहासिक जनादेशको लागि म दिल्लीका मेरा प्रिय दिदीबहिनी र भाइलाई नमन गर्दछु। यी आशिष प्राप्त गर्न पाउँदा हामी नम्र र गौरवान्वित छौँ।”

उनले दिल्लीको विकास गर्न, जनताको समग्र जीवनस्तर सुधार गर्न र विकसित भारत निर्माणमा दिल्लीको प्रमुख भूमिका सुनिश्चित गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरे।

आपले स्वीकार्‍यो पराजय
दिल्लीका मुख्यमन्त्री आतिशीले कालकाजीबाट जित हासिल गरिन। आप नेता तथा पूर्व मुख्यमन्त्री केजरीवाल, पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया, दिल्लीका मन्त्री सौरभ भारद्वाज, पूर्वमन्त्रीहरू सोमनाथ भारती र सत्येन्द्र जैन तथा पार्टी नेता अवध ओझा र दुर्गेश पाठक पराजित भए।

आप नेता केजरीवालले जनादेश स्वीकार गर्दै भाजपालाई विजयको लागि बधाई दिएका छन्। केजरीवालले एक्समा पोस्ट गरिएको भिडियोमा भनेका छन्, “जनताको जनादेशलाई हामी अत्यन्त नम्रताका साथ स्वीकार गर्दछौँ। म भाजपालाई यो जीतको लागि बधाई दिन्छु र मलाई आशा छ कि उनीहरूले ती सबै वाचाहरू पूरा गर्नेछन् जसका लागि जनताले उनीहरूलाई मतदान गरेका छन्।” 

उनले विगत १० वर्षमा आफूहरूले स्वास्थ्य, शिक्षा, पूर्वाधारका क्षेत्रमा धेरै काम गरेका पनि बताए। उनले आफूले रचनात्मक प्रतिपक्षको भूमिका मात्र निर्वाह गर्ने‍ उल्ले‍ख गर्दै भने‍, “जनताको बीचमा रहेर जनताको सेवा गरिरहनेछौँ। हामी सत्ताका लागि राजनीतिमा आएका होइनौँ, राजनीतिलाई जनताको सेवा गर्ने माध्यमका रूपमा लिएका छौँ।” 

एक्जिट पोलले भाजपाको जित हुने देखाएको र पूर्वानुमानअनुसार नै यो नतिजा आएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरे‍का छन्।