बेँसीसहर–चामे सडक: खरखरेभिरको पहिरो रोकथाममा ढिलाइ

संघीय सरकारको १६ करोड ४८ लाख रुपैयाँ बजेटमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो। गत असारयता काम ठप्प छ।

लमजुङ– बेँसीसहर–चामे सडकअन्तर्गत बेँसीसहर नगरपालिका–६ स्थित खरखरेभिर पहिरो रोकथाममा ढिलाइ भएको छ। करिब आठ महिनादेखि जारी पहिरो रोकथामको काम सम्पन्न हुन सकेको छैन। यहाँ गत असारयता निर्माण कार्य ठप्प छ।

संघीय सरकारको १६ करोड ४८ लाख रुपैयाँ बजेटमा खरखरेभिरमा पहिरो रोकथामका लागि निर्माण कार्य हुँदै आएको थियो। निर्माणमा संलग्न निर्माण व्यवसायीले बीचमै काम छाडेका छन्। यसबाट स्थानीय तथा पर्यटकलाई समस्या भएको छ। डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालयका सूचना अधिकारी नवीन विष्टका अनुसार काम जटिल रहेको भन्दै ठेकेदारले काम छाडेका छन्। 

यसअघि निर्माण गरिएको सडकमाथिको संरचना पनि भत्किएको छ। सडकको हालसम्म जम्मा ३२ प्रतिशतमात्र प्रगति भएको सूचना अधिकारी विष्टले बताए। उक्त खण्डमा ३०० मिटर पर्खाल सडक ढलान गर्नुपर्ने देखिन्छ। अझै ८० मिटर सडक ढलान गर्न बाँकी रहेको छ। सो काम सम्पन्न भएपछि पहिरो रोकथाम हुने सूचना अधिकारी विष्टको भनाइ छ। 

पहिरो रोकथाम नहुँदा सो सडक भएर यात्रा गर्न जोखिम भएको बेँसीसहर नगरपालिका–६ का कृष्णबहादुर आलेले बताए। “यात्रा गर्दा कतिबेला माथिबाट ढुंगामाटो तथा पहिरो खस्ने हो भन्ने डर रहन्छ। सडकबाट चिप्लए सिधै मर्स्यांदी नदीमा पुग्ने खतरा छ,” उनले भने। 

विश्व चर्चित चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने उक्त ठाउँको पहिरो हुँदै पर्यटक आवतजावत गर्छन्। यहाँ हिँड्दाहिँड्दै पहिरो खस्ने जोखिम रहेको बेँसीसहर–६ वडाध्यक्ष प्रकाश थापाले बताए। पहिरोभन्दा माथि २४–२५ परिवार रहेको फाँटगाउँ छ। पहिरोले बस्ती भेट्न करिब ५०० मिटर मात्र बाँकी छ। 

कार्यालयका अनुसार खरखरेभिरका लागि बोलपत्र आह्वान गरेर २० करोड लागत अनुमान गरिएकामा १६ करोड ४८ लाखमा निर्माण सम्पन्न गर्नेगरी खरीढुंगा गोल्मेस्वर जेभीले कामको जिम्मा लिएको थियो। सम्झौताअनुसार २०८० मंसिरभित्र काम सम्पन्न हुनुपर्ने हो। तर काम सम्पन्न हुन नसक्दा २०८२ मंसिरसम्मका लागि  म्याद थप गरिएको छ। 

मनाङ जिल्लालाई सडक सञ्जालसँग जोड्ने सरकारको योजनाअनुसार २०५१ सालदेखि सडक डिभिजन कार्यालय दमौली, तनहुँले निर्माण शुरू गरेको थियो। २०५७ देखि नेपाली सेनाले सो सडक बनाउने जिम्मा पाएको थियो। 

सेनाले २०६९ सालमा सडक निर्माण पूरा गरी डिभिजन सडक कार्यालय दमौलीलाई हस्तान्तरण गरेको थियो। ६५ किलोमिटर रहेको उक्त सडक लमजुङतर्फ ३५ र मनाङतर्फ ३० किलोमिटर पर्छ। यो सडक खरखरे भिरको पहिरोको कारण अवरुद्ध हुँदै आएको छ।