खेर जाने केराको थम्बाबाट सामग्री उत्पादन

शुक्लागण्डकी नगरपालिकाका ११ जना महिलाहरूले केराको थम्बाबाट रेसा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउने सीप सिकेका छन्।

डुम्रे– जहाँकहीँ पाउन सकिने केरा खानका लागि उपयोगी फलका रूपमा लिइन्छ। यसको खेर फालिने गरिएका थम्बालाई तनहुँका महिलाले उपयोगी सामग्री उत्पादनसँग जोडेका छन्।

शुक्लागण्डकी नगरपालिकाका महिलाले खेर गएका केराका थम्बालाई उपयोगी सामग्री बनाई हस्ताकलाको सीप विकास गरेका छन्। सामाजिक विकास कार्यालयका प्रमुख विदुरहरि आचार्यले ज्येष्ठ नागरिकमा रहेका सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न तालिमसमेत प्रदान गरिँदै आएको बताए। 

महिलाहरूले केराको थम्बाबाट रेसा निकाली ढकिया, चकटी, झोलालगायत विभिन्न सामग्री बनाउन सिकाइएको छ। शुक्लागण्डकी नगरपालिकाका ११ महिलाले केराको थम्बाबाट विभिन्न उपयोगी सामग्री तयार पार्ने हस्तकलाको सीप सिकेका छन्। उनीहरू सीपलाई उपयोग गरेर आर्थिक रूपमा सबल बन्ने प्रयासमा छन्। 

महिला उद्यमी संघ शुक्लागण्डकीका अध्यक्ष तुलसी शाहले केबल फल खानमात्र प्रयोग भइरहेको केराको थम्बाबाट विभिन्न सामग्री बनाउने सीप सिक्न पाउँदा उत्साहित भएको बताइन्। तालिममा सहभागी अन्य महिलाले सिकेको सीपलाई आयआर्जनसँग जोडेर आत्मनिर्भर बन्नतर्फ काम गर्ने बताए।