एमाले अध्यक्ष केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्म सहभागी हुने फेस्टिभलमा देश-विदेशका करिब २०० साहित्यकार, राजनीतिज्ञ, लेखक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने छ।
कास्की– नेपाल लिटरचेर फेस्टिभलको दशौँ संस्करण पुस ६ देखि ११ गतेसम्म बाराहीघाट, लेकसाइड पोखरामा आयोजना हुँदै छ। शनिबार आयोजक संस्था बुकवर्म फाउन्डेसनलले पोखरामा पत्रकार सम्मेलन गर्दै फेस्टिभलको सह-आयोजक गण्डकी प्रज्ञा–प्रतिष्ठान, प्रवर्द्धकमा पोखरा महानगरपालिका र सहयोगी संस्थाका रूपमा पोखरा प्रज्ञा–प्रतिष्ठान रहेको जनाएको हो।
फेस्टिभलमा देश-विदेशका करिब दुई सय साहित्यकार, राजनीतिज्ञ, लेखक, पत्रकार, कलाकार, सम्पादक एवं विशिष्ट व्यक्तित्वको उपस्थिति रहने आयोजकले जनाएको छ। फेस्टिभलमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीदेखि जनमत पार्टीका अध्यक्ष सीके राउतसम्मले सहभागिता जनाउने छन्।
नेपाल लिटरेचर फेस्टिभलका निर्देशक नीरज भारीले सन् २०११ मा झम्सिखेलस्थित ज्ञान मण्डलाको प्राङ्गणबाट शुरू भएको नेपाल लिटरेचर फेस्टिभल दशौँ संस्करणसम्म आइपुग्दा नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराहीघाटमा भव्यतासाथ आयोजना हुने अवस्थामा आइपुगेको बताए। "यस्ता फेस्टिभलमा हुने सामाजिक बहस र विमर्शले देशका उच्चपदस्थ व्यक्ति एवं सरोकारवालालाई जबाफदेही बनाउन सघाउँछ", उनले भने।
समाजलाई मार्गदर्शन गर्नुका साथै लोकतन्त्रलाई शक्तिशाली बनाउन पनि यस्ता फेस्टिभलले सहयोग पुर्याउने उनले बताए। "कोभिडका कारण यसअघिको संस्करण आयोजना गर्न नपाए पनि यस वर्षको फेस्टिभल आयोजना गर्न पाउँदा हामीलाई हर्षित तुल्याएको छ", उनले भने।
फेस्टिभल दक्षिण एसियाकै एउटा समावेशी मञ्च बन्दै गएकामा आफूहरू गौरवान्वित भएको पनि उनले बताए। ‘जहाँ शब्दहरू जीवन्त हुन्छन्’ भन्ने मूल नाराका साथ शुरू भएको नेपाल लिटरेचर फेस्टिभलले कला, साहित्यको मात्रै प्रवर्द्धन नभई विचार निर्माण र समाजको आलोचनात्मक चेतलाई समेत उचाइ दिँदै आएको उनको भनाइ छ।
फेस्टिभलका सह–निर्देशक सुजाता खत्रीले दशौँ संस्करणको फेस्टिभल आफूहरूका लागि विशेष भएको बताइन्। "हामीले गत वर्ष फेस्टिभल आयोजना गर्न पाएनौँ। तर, यस वर्षको फेस्टिभललाई हामीले विशेष बनाउन खोजेका छौँ। त्यसमाथि यस वर्ष दशौँ संस्करणको फेस्टिभल हो", उनले भनिन्, "देश-विदेशबाट पाल्नु हुने हाम्रा सबै पाहुनाहरूलाई हामी सुन्दर नगरी पोखरामा स्वागत गर्न आतुर छौँ।"
उनका अनुसार ‘शब्दशक्ति उत्सवको एक दशक’ नारा रहेको दशौँ संस्करणको फेस्टिभलको उद्घाटन सत्रमा अर्थशास्त्री एवं काठमाडौँ विश्वविद्यालयका रजिस्ट्रार अच्युत वाग्लेले ‘नेपाल २०९०’ शीर्षकमा प्रवचन दिने दिने छन्।
आयोजकका अनुसार फेस्टिभलमा सन् २०२२ का बुकर पुरस्कार विजेता श्रीलङ्काली लेखक सेहान करुणातिलका, लेखक एवं पत्रकार अक्षय मुकुल, सह–प्राध्यापक एवं लेखक सुकेतु मेहता, लेखक एवं फिल्म निर्माता सवा करिम खान, लेखक श्रेयना भट्टाचार्य लगायतको सहभागिता हुँदै छ।
त्यस्तै, पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू गगन थापा, विश्वप्रकाश शर्मा, सीके राउत, गभर्नर महाप्रसाद अधिकारी, डा. भगवान् कोइराला, मास्टरसेफ सन्तोष साह, पत्रकार एवं लेखक विजय कुमार, लेखक सम्राट उपाध्याय, बुद्धिसागर, सुबिन भट्टराई, संगीतकर्मी रञ्जित गजमेर, अभिनेत्री स्वस्तिमा खड्का, पत्रकार रमा सिंह, गायिका झुमा लिम्बू लगायतको सहभागिता रहनेछ।
यस वर्ष फरक क्षमता भई अब्बल रहेको व्यक्तित्वहरू, दार्चुला, गोरखा, मनाङका जनप्रतिनिधिको पनि उपस्थिति रहने आयोजकले जनाएको छ। यस्तै, फेस्टिभलमा शिक्षाका तीन सत्रका साथै चार दिन बिहान ९ बजेदेखि १०:३० बजेसम्म कक्षा ९ देखि १२ सम्मका बालबालिकाका लागि वक्तृत्वकला प्रतियोगिताको कार्यक्रम पनि रहेको छ।
फेस्टिभलमा ५० भन्दा बढी सेसन, सांगीतिक साँझ लगायतका प्रस्तुति रहने छन्। फेस्टिभलको पूर्वसन्ध्यामा कवि नवराज पराजुली र उज्ज्वल सागरको प्रस्तुति, पहिलो दिन गोपाल योञ्जनको सम्झनामा गोपालय सांगीतिक कार्यक्रम हुने बताइएको छ।
यस्तै, गण्डकी प्रज्ञा–प्रतिष्ठानको सहकार्यमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको आयोजनामा आधुनिक संगीतमा १०० वर्ष, अनिल शाही र उनको समूहको विशेष साङ्गीतिक प्रस्तुति, रैथानको प्रस्तुति र अन्तिम दिन प्रदीप रोदनको महफिल रहने छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
