धनुषाधाम विद्युत् चोरीमुक्त नगरपालिका घोषित

नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न  घरपरिवारलाई निःशुल्क रूपमा विद्युत् मिटरसमेत वितरण गरिएको छ।

काठमाडौँ– धनुषा जिल्लास्थित धनुषाधामलाई विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरिएको छ। धनुषाधाम नगरपालिकाको आयोजना र नेपाल विद्युत् प्राधिकरणको संयोजकत्वमा नगरपालिका विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरिएको हो। 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिका प्रमुख बालेश्वर मण्डलले शनिबार धनुषाधाममा आयोजित कार्यक्रममा नगरपालिकालाई विद्युत् चोरीमुक्त क्षेत्र घोषणा गरेका हुन्। कार्यक्रममा धनुषाधाम नगरपालिका क्षेत्रमा बसोबास गर्ने पिछडिएका तथा आर्थिक रूपमा विपन्न  घरपरिवारलाई निःशुल्क विद्युत् मिटरसमेत वितरण गरिएको छ।

ऊर्जामापक यन्त्र (मिटर)मार्फत बाहेक विद्युत्‌को अन्य लाइनबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्युत्‌को लाइन तानेमा वा जडान गर्ने (हुकिङ), मिटरलाई छली विद्युत् प्रयोग गर्ने, मिटर तोडी, नासी, बिगारी वा अन्य कुनै किसिमले क्षति पुर्‍याउने वा सामान्य परिचालन हुन नसक्ने गरी असक्षम बनाउनेलगायत कार्य गरेमा विद्युत् चोरीको कसुर गरेको मानिने कानूनी व्यवस्था छ। चोरीमार्फत अनधिकृत र असुरक्षित रूपमा विद्युत्‌को प्रयोग गर्दा हरेक वर्ष धनजनको क्षति हुने गरेको छ।

प्राधिकरणले विद्युत्‌को पहुँच विस्तार र अनधिकृत रूपमा हुने विद्युत् प्रयोगलाई रोक्न मिटर नै किन्न नसक्ने पिछडिएका तथा विपन्न परिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गर्दै आएको छ। मुलुकभर रहेका आफ्ना वितरण केन्द्रमार्फत प्राधिकरणले विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर जडान गरिदिँदै आएको छ। विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसार ५–३० एम्पिएर क्षमताको बक्ससहितको  सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउने छन्। प्राधिकरणले मिटर जडानका लागि सेवा शुल्क लिँदैन।

धनुषाधामले आफ्नै प्रयास र पहलमा विद्युत् चोरीमुक्त नगरपालिका घोषणा गरी ठूलो चुनौती लिएको उल्लेख गर्दै कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् चोरी सामाजिक अपराध भएकाले यसको नियन्त्रणका लागि प्राधिकरणतर्फ गर्नुपर्ने प्राविधिक कामलाई उच्च प्राथमिकतामा राखी अगाडि बढाइएको बताए। 

मधेश प्रदेशमा २०८१/८२को पुससम्ममा वितरणतर्फको विद्युत् चुहावट १४.२० प्रतिशत छ। आवमा मधेश प्रदेशको विद्युत् चुहावट ११.९ प्रतिशतमा झार्ने लक्ष्य छ। 

प्राधिकरणले आफ्ना हरेक वितरण केन्द्रलाई प्रत्येक वर्ष चुहावट नियन्त्रणको लक्ष्य दिई सोहीअनुसार क्रियाकलाप सञ्चालन गरिरहेको छ। प्राधिकरणले गत आवमा प्रणालीको विद्युत् चुहावट १२.७३ प्रतिशतमा झारेको थियो।