नागार्जुनका निलम्बित मेयर बस्नेतविरुद्ध ८ करोड गैरकानूनी सम्पत्ति आर्जनको मुद्दा

अख्तियारले नागार्जुन नगरपालिकाका निलम्बित नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

काठमाडौँ– काठमाडौँको नागार्जुन नगरपालिकाका निलम्बित नगरप्रमुख मोहनबहादुर बस्नेतविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार बस्नेतविरुद्ध आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बिगो कायम गरी गैरकानूनी आर्जन गरी भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर गरेको हो।

अख्तियारका प्रवक्ता नरहरि घिमिरेका अनुसार पदीय मर्यादा विपरीतका कार्य गरी गैरकानूनी सम्पत्ति आर्जन गरेर भ्रष्टाचार गरेको भन्ने उजुरीका आधारमा अनुसन्धान गर्दा बस्नेत र उनका एकाघर परिवारका सदस्यले जाँच अवधिसम्ममा कुल १९ करोड ९५ लाख ७४ हजार ६२ रुपैयाँ आय गरेको तर २८ करोड ६५ लाख ६१ हजार ९६७ रुपैयाँ खर्च गरेको पाइएको हो। उनले खर्च गरेकोमध्ये आठ करोड ६९ लाख ८७ हजार १०५ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत पुष्टि हुन नसकेको अख्तियारको दाबी छ।

अख्तियारले बस्नेतले सार्वजनिक पदमा रहँदाका बखत गैरकानूनी रूपमा आर्जन गरेको सम्पत्ति जफत गर्न माग गरेको छ। त्यस्तै, उनकी श्रीमती उर्मिला बस्नेतका नाममा रहेको नगद मौज्दात रकम, खरिद गरिएका घरजग्गा जफतको मागदाबी पनि अख्तियारले लिएको छ। बस्नेतले आफू नगरप्रमुखमा रहँदा वार्षिक रूपमा पेश गरिएको सम्पत्ति विवरणमा झूट्टा विवरण दिएको पुष्टि भएको दाबी गर्दै अख्तियारले उनलाई थप कारबाहीको माग गरेको छ।

अख्तियारले यसअघि पुस १४ गते बस्नेतविरुद्ध १३ करोड १२ लाख रुपैयाँ बिगो कायम गरेर भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपपत्र दायर गरेको थियो। त्यसयता उनी पदबाट निलम्बित छन्।