गौशाला नगरपालिका–३ नवराजपुरस्थित गौशालामा गाईको बिजोग छ। उचित सम्भार, खानपान र उपचारको अभावमा गाईका हाडछाला मात्र देखिन्छन्।
महोत्तरी– महोत्तरीको गौशालास्थित ‘निगौल गाई गौशाला’को व्यवस्थापन हुन सकेको छैन। गौशालाको अवलोकन र निरीक्षण उपल्लो तहबाट हुँदै आए पनि समस्या निराकरणमा ठोस पहलकदमी हुन सकेको छैन।
गत शनिबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले गौशालाको अवलोकन गरेका थिए। यसअघि तत्कालीन मन्त्री पद्मा अर्यालले पनि अवलोकन गरेकी थिइन्। अनुगमन गरे पनि गौशालाको व्यवस्थापनमा कोहीको ध्यान पुग्न नसकेको गौशाला–४ का अजय कुशवाहाले बताए।
राष्ट्रिय सहकारी विकास बोर्ड अभिभावकत्वको यो संस्थाको मुख्य रेखदेखको जिम्मा प्रमुख जिल्ला अधिकारीमा रहेको छ। गौशालामा गाईको बिजोग छ। उचित सम्भार, खानपान र उपचारको अभावमा गौशाला नगरपालिका–३ नवराजपुरस्थित निगौल गाई गौशालाका गाईका हाडछाला मात्र देखिन्छन्। कुपोषणले बर्सेनि गाई मर्न थलेका स्थानीयको भनाइ छ। गौशालाका गाईको उचित रेखदेख हुन सकेको छैन। उनीहरू पौष्टिक आहार र उपचारबाट समेत वञ्चित छन्।
अहिले नवराजपुर र गौशालामा गरी २०० भन्दा बढी गाई छन्। गौशालाका कर्मचारी पनि गाईको समुचित देखभाल र खानपान व्यवस्थापनबारे राष्ट्रिय सहकारी बोर्ड उदासीन छ। “अभिभावकत्व लिएको बोर्डले कुनै वास्ता गर्दैन,” निगौल गाई गौशाला कार्यालयका प्रमुख वीरबहादुर चौधरीले भने।
निगौल गाई गौशाला सञ्चालन गर्न १४८ बिघा जग्गाको व्यवस्था गरिएको छ। जग्गामा घाँस र अन्य बाली समुचित तवरले लगाउन नसक्दा गाईलाई आहाराको अभाव छ। “गाईकै खानपान व्यवस्थाका लागि जग्गा छ, तर त्यो जग्गा जोतकोड गर्ने, घाँस र अन्यबाली लगाउने गरेको देखिँदैन। अधिकांश जग्गा बाँझै छ,” स्थानीय रिझन साहले भने, “स्थानीय तहले पनि यसप्रति बेवास्ता गरेको छ।”
निगौल गाई गौशालामा अहिले राष्ट्रिय सहकारी बोर्डका ज्यालादारीसहित ३० कर्मचारी कार्यरत छन्। यसमध्ये २६ जना त गोठालाकै दरबन्दीमा रहेका छन्। उनीहरूले गाईको हेरचाह राम्रोसँग गर्न सकेका छैनन्। आहारा दिन नसक्दा गाई थारा बस्ने क्रम बढेको कार्यालय प्रमुख चौधरीको स्वीकारोक्ति छ। “गाईकै आहाराको ऋण ५० लाख पुग्यो होला,” प्रमुख चौधरीले भने, “अब त उधारो पत्याउन छाडे। त्यसैले गाईलाई पौष्टिक आहारा खुवाउन सकिएको छैन।” यो प्रबन्ध राष्ट्रिय सहकारी विकास बोर्डले गर्नुपर्ने उनको भनाइ छ।
यसबारे पटकपटक विभिन्न निकायमा ताकेता गरे पनि वास्ता नभएको चौधरीको गुनासो छ। गाई गौशालाको जग्गामा पशु हाट लगाइने ठेक्का बन्दोबस्तबाट २५ प्रतिशत आफ्नो कार्यालयले पाउनुपर्ने पूर्वसहमति भए पनि गौशाला नगर कार्यपालिकाको कार्यालयले रकम दिन विगतदेखि नै आनाकानी गर्दै आएको गाई गौशालाका कर्मचारी बताउँछन्।
गाई गौशालाको नाममा रहेको १४८ बिघा जग्गामध्ये झण्डै ५० बिघा जति अतिक्रमणको चपेटामा परेको छ। यो अतिक्रमण गरिएका जग्गामा घर ठडिएका छन्। अतिक्रमण हटाउन पहलकदमी हुन सकेको छैन। दश बिघामा गाई गोठ, नौ/नौ बिघामा पोखरी र फूलबारी तथा करिब ५६/५७ बिघाजति खेतीयोग्य जग्गा छ। यसमध्ये २० बिघा नियमित घाँस खेतीका लागि छुट्याइए पनि खेती नलगाइँदा गाईले हरियो घाँस खान पाएका छैनन्। अन्य जग्गा ठेक्कामा लगाइने गरेको छ।
गौशालाको तीन बिघामा गौशाला नगरपालिकाले पशु हाट लगाउँदै आएको छ। हाटको निश्चित प्रतिशत आम्दानी गाई गौशालाले नपाएको गाई गौशाला व्यवस्थापन समितिको कार्यालयले जनाएको छ। गाई गौशालाको व्यवस्थापनमा तीनै तहका सरकार र राष्ट्रिय सहकारी बोर्डले पहलकदमी लिनपर्ने स्थानीय बताउँछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
