आन्तरिक पर्यटकको रोजाइमा इलामको तेह्रकुनेपोखरी

माई नगरपालिका–१ र ९ को संगमस्थलमा पर्ने तेह्रकुनेपोखरीमा पूर्वाधार विकाससँगै डुंगासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो।

फिक्कल– दक्षिणी इलामको माई नगरपालिका–१ र ९ को संगमस्थलमा पर्ने तेह्रकुनेपोखरी पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ। यहाँ घुम्न, तस्वीर खिच्न, भिडियो छायांकन गर्न र वनभोज खान आउनेको भीड लाग्ने गरेको छ। 

स्थानीयको सक्रियतामा भएको पूर्वाधार विकाससँगै डुंगासमेत सञ्चालनमा आएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो। जैविक विविधता, प्राकृतिक सौन्दर्य र  सुगम भएकाले आन्तरिक पर्यटकका लागि उत्कृष्ट गन्तव्य बनेको स्थानीय सुवर्ण राईले बताए। “शनिबार र सार्वजनिक बिदाको दिन पोखरीमा आउने पर्यटकको भीडभाड हुने गर्छ,” उनले भने। 

पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले माई नगरपालिकामा बिहीबारदेखि तेह्रकुनेपोखरी पर्यटन महोत्सव हुँदैछ। स्थानीय वरभञ्ज्याङ सामुदायिक वन उपभोक्ता संस्थाको आयोजनामा माई नगरपालिका–१ र ९ को संगमस्थलमा महोत्सव हुन लागेको हो।

यही फागुन ३ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय मौलिका संस्कृति, कला, साहित्य, संगीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गरिने महोत्सव आयोजक समितिका अध्यक्ष पदम राईले बताए। महोत्सवमा आदिवासी लिम्बू, राई, मगर, तामाङलगायत विभिन्न जातजातिका सांस्कृतिक झाँकी र वेशभूषा प्रदर्शन गरिने उनले जानकारी दिए। 

“यहाँका आदिवासी भूमिपुत्रहरुको मौलिका संस्कृति, कला, साहित्य, संगीत र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो प्रयास हो। यसका लागि तीनै दिन अलगअलग कार्यक्रम तय गरिएको छ,” अध्यक्ष राईले भने, “प्रत्येक दिन फरक–फरक जातजातिको पहिचान र संस्कृति झल्किने झाँकीसहित वेशभूषा प्रदर्शन गरिनेछ।”

किरातीहरूको प्रथम राजा ‘यलम्बर’को मूर्ति स्थापना सहयोगार्थ प्रत्येक दिन साँझमा ‘यलम्बर साँझ’ सांगीतिक कार्यक्रम तय गरिएको छ। यसैगरी, लिम्बू जातिको धाननाच, पालाम, च्याब्रुङ नाच, राई जातिको साकेला सिली, तामाङ जातिको सेलो, मगर जातिको मारुनी, खसआर्य जातिको सङ्गिनी नृत्यलगायत प्रस्तुत हुने उनले बताए। महोत्सवले तेह्रकुनेपोखरीको थप प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धन गर्नमा सहयोग पुग्नेमा आफू विश्वस्त रहेको माई नगरपालिका प्रमुख खम्बासिंह लिम्बूले बताए। 

सदरमुकामबाट ३४ किलोमिटर दक्षिणमा अवस्थित तेह्रकुनेपोखरीसम्म सडक विस्तार जारी छ। अन्य भौतिक पूर्वाधार पनि धमाधम बनिरहेकाले यो पोखरी अधिकभन्दा अधिक पर्यटकको प्रमुख गन्तव्य बन्ने अध्यक्ष राईको विश्वास छ।