नेप्से परिसूचक ७ अंकले घट्यो, ७ अर्ब ९२ करोडको कारोबार

बिहीबार नेप्से परिसूचक ७.२६ अंकले घटेर २६७८.४७ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– शेयर बजारमा साताको अन्तिम कारोबार दिन बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक घटेर बन्द भएको छ। नेप्से परिसूचकसँगै कारोबार रकम पनि घटेको हो। नेप्सेका अनुसार बिहीबार परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ७.२६ अंकले घटेर २६७८.४७ को बिन्दुमा कायम भएको हो।

यस दिन विभिन्न ३०२ कम्पनीको एक करोड ५८ लाख ७५ हजार १५२ कित्ता शेयर ७८ हजार ८३५ पटक खरिदबिक्री भयो। जसबाट सात अर्ब ९२ करोड १३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भयो। यसअघि बुधबार आठ अर्ब ७१ करोड ७८ लाख ४७ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यस दिनको कारोबारमा वित्त १.८६, लगानी ०.५२, लघुवित्त ०.१८ प्रतिशतले बढेको छ भने अन्य सबै समूहको उपसूचक घटेको छ। बैंक ०.२३, विकास बैंक ०.९५, होटल तथा पर्यटन ०.५८, जलविद्युत् ०.९०, जीवन बीमा ०.१४, उत्पादन तथा प्रशोधन ०.४७, म्युचुअल फन्ड ०.०८, निर्जीवन बीमा ०.८७, अन्य ०.०९ र व्यापार समूहको उपसूचक ०.०१ प्रतिशतले घटेको छ।

मातृभूमि लघुवित्त र कुमारी सबल योजनाको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने न्यादी हाइड्रोपावरको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। त्यस्तै, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको ९.९९, पोखरा फाइनान्सको ९.९८ र वाराही हाइड्रोपावरको शेयर मूल्य ६.७७ प्रतिशतले बढ्दा सामुदायिक लघुवित्त ४.९०, रिभर फल्स पावर ४.१०, एनएलजी इन्स्योरेन्स ३.५१ र रसुवागढी हाइड्रोपावर ३.३७ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको सबैभन्दा बढी ३४ करोड १४ लाख ७५ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। कारोबार भएका शेयर संख्याका आधारमा भने सबैभन्दा बढी एचआईडीसीएलको पाँच लाख ८३ हजार ८०२ कित्ता किनबेच भएको नेप्सेले जनाएको छ।