मान्छेको माया यहाँ...

अघिल्लो युवक र पछिल्लो युवतीमार्फत पस्किएको हरफ आनकातान फरक छ। युवतीले मायालाई आँखाको नानी र उज्यालो ल्याउने बिहानीसँग दाँजेकी छिन्।

मोहवश कसैप्रति हुने हार्दिकतासहितको अनुरागलाई चल्तीको भाकामा ‘माया’ भनिन्छ। आमा–बाबु, छोरा–छोरी, दाजु–भाइ, दिदी–बहिनी, प्रेमी–प्रेमिका, बन्धु–बान्धव, पती–पत्नी, साथी–भाइ, इष्ट–मित्र आदिलाई गरिने प्रेम, स्नेह भाव, प्रीति, ममता, ममत्व मायाको परिभाषा हो। मायाको यो सकारात्मक अर्थ हो। मायाद्रोही कृत्यहरूलाई शब्दकोशहरूले धोका, छलकपट, कूटनीति, दाउपेच, प्रपञ्च, मिथ्याले परिभाषित गर्न खोज्छन्।

आमरूपमा प्रेमी–प्रेमिकालाई स्नेह भाव दर्साउनुलाई माया गर्ने भन्ने नै प्रचलनमा छ। अझ बैँसले उन्मत्त तरुनी तन्नेरीबीच हुने सद्भाव, आकर्षण र सम्मोहनलाई माया भनिन्छ, जसको सम्बन्ध जीवनसाथी बनाउने हदसम्म हुन्छ। यसैले, यस्तै सन्दर्भमा मायामाथि सबैभन्दा बढी साहित्य साधना भएको छ, संसारभर।  

मान्छेको माया
मान्छेको माया यहाँ खोलाको पानीजस्तो’ बोलको एउटा ‘कालजयी’ गीत छ। राममान तृषितले रचना गरेको यो गीतमा शिवशंकरले सुगम संगीत भरेका हुन्। नारायणगोपाल गुरुबाचार्य र ज्ञानु राणाको द्वैत (ड्वेट) गायकीमा सुन्दर स्वर कुँदिएका छन्। हुन तः यसपछि अनेक गायक–गायिकाले यो गीतमा स्वर खिपेका छन्। तर गीतको प्रांगारिक (अर्ग्यानिक) गायक–गायिका नारायणगोपाल र ज्ञानु हुन्।

‘संगीत तथा छन्दशास्त्रमा कालको नपाई’लाई कालखण्ड भनिन्छ। लामो कालखण्डसम्म बज्ने, सुन्ने श्रोता हुने, सुनिइरहने, कण्ठाग्र, मुखाग्र भइरहने गीतलाई कालजयी उपाधि प्राप्त हुन्छ। नेपाली 'भर्नाकुलर' भाकामा कति गीत कालजयी छन् या हुन्, यसै हेक्का राख्न सकिन्न। यस्तो उपाधि दिने कुनै औपचारिक संस्था वा जाँचकी स्रष्टा छैनन्। त्यसो गर्नु कष्टसाध्य पनि छ। गीत श्रवणमा श्रोताको निरन्तरताले नै 'कालजयी'को मापन गरेर खिताब दिन्छ। यो मापदण्डको आधारमा राममान-नारायणगोपालको यो गीतलाई कालजयी नै भन्नुपर्छ। 

यो गीत मुखडादेखि अन्तरासम्म र गीतका गेडामा पनि द्वैत गायकी छ। दोहोरी गीतमा स्वभावैले दुई समूहबीच गायकी हुन्छ। केटाकेटी, युवायुवती, तरुनी तन्नेरी समूहबीच कुनै विषय प्रसंगमा गीतका माध्यमबाट दोहोरी खेल्नु गीतको मेलो हो। दोहोरीमा हार र जितको प्रतिस्पर्धा नै हुन्छ। खेलकुद प्रतिस्पर्धामा दोहोरी गीत प्रतियोगिता राख्ने चलन थियो। आजभोलि दोहोरी व्यावसायिक हुने नाममा निकै पैसामुखी र ‘फोहोरी’ भइसकेको छ।

तर अक्सर आधुनिक गीतमा सिधै प्रत्युत्तर खापेसरह दोहोरीझैँ भाका लगाइन्न। बरु निश्चित विषयलाई प्रस्ट पार्न गीत लय हालिन्छन्। यद्यपि, यो गीतको मायाको प्रसंगमा युवा–युवतीको मतैक्य छैन। यसरी मत बाझिने गरी एउटै रचना किन सिर्जना गर्नु पर्‍यो होला? सम्भवतः रचनाकार राममान नै मायाको तन्नेरी परिभाषामा अलमलिएका पनि हुन सक्छन्। या त गीतमार्फत मायाको अन्तरङ्ग बहस पर्गेल्न खोजेका हुन सक्छन्। गीतको मुखडा युवकले यसरी शुरू गर्छन्: 

मान्छेको माया यहाँ खोलाको पानीजस्तो
किनारालाई छोई भाग्ने लहरको बानीजस्तो। 

मुखडामा गाइएजस्तो माया खोलाको पानी या लहरको बानीजस्तै हो? यसमा धेरै तर्क–वितर्क गर्न सकिन्छ। यो परिभाषाले मायालाई पलायनतर्फ लैजान्छ। मायालाई संगठित हुन पनि दिँदैन। मायाको सौन्दर्यशास्त्रमा हमला बोल्छ। मायाको पवित्र बुझाइ खण्डित हुन्छ।

यत्तिकैमा युवतीको शास्त्रीय झटारो आउँछ:

मान्छेको माया यहाँ आँखाको नानीजस्तो
यो रात भगाई आउने सुन्दर बिहानीजस्तो। 

अघिल्लो युवक र पछिल्लो युवतीमार्फत पस्किएको हरफ आनकातान फरक छ। युवतीले मायालाई आँखाको नानी र उज्यालो ल्याउने बिहानीसँग दाँजेकी छिन्। यी हरफको तुलनात्मक श्रवण र सँगै अध्ययन गर्दा रचनाकार ‘मायाजाल’मा परेको महसुस हुन्छ। उनी मायाको सञ्जालमा अघोर अलमलमा छन् भन्ने नै बुझ्नमा आउँछ। सँगसँगै मायाको सन्दर्भमा पुरुषत्व र नारीत्वमा कति अपनत्व छ भन्ने सन्देश दिन खोजेका हुन् कि भन्ने पनि आउने भो। महिला र मायाको अन्तरसम्बन्धको मनोविज्ञान यहीँबाट जगजाहेर हुन्छ। 

छिल्लिएको माया
अब जाऊँ अर्को अन्तरातर्फ। युवकको अर्को स्वर ध्वनि आउँछ यसरी: 

माया त जोवनको आवेश मात्र नै हो
तिर्खाको राम्रो अर्को एक भेष मात्र नै हो।

युवकले सकारेको मायाको भाषा यहीँनेर आएर अल्लारिएको छ। ‘लाहुरे माया चाउरे पिरती’ भन्ने वाक्यांशलाई चरितार्थ गर्न खोजेझैँ लाग्छ। सँगै आएको अर्को हरफ त बैँसमा छिल्लिन पुगेजस्तै छ। एकअर्का लिङ्गबीच बैँसमा हुने आकर्षणबाट उत्पन्न हुने माया यति हल्का र कामूक मात्र हुँदैन। अपवादमा कामसूत्रले घर गरे पनि समग्रमा मायाको परिचय यति घटिया हुन्न। आमरूपमा व्याख्या गरिएझैँ काम वासना आफै तुच्छ विषय पनि त होइन, बरु सिर्जनाको कारक पनि हो। 

तेस्रो हरफमा युवतीले युवकलाई फट्कार्दै गाउँछिन्: 

तिम्रो हेराइमा केबल आँखा छ, मुटु छैन।

मायाको स्पन्दन मुटुसम्म हुन्छ भन्ने हेक्का राख्न र मायालाई भोगविलासको नांगो आँखाले नहेर्न उपदेश दिन्छिन्। लगत्तै युवकले आफ्नो तर्कमाथि नाजायज तर्क राख्दै स्वर खाप्छन्:

तिम्रो बोलाइमा स्वर छ, ढुकढुकै केही छैन।

युवतीको तर्कपूर्ण स्वरमाथि भएभरको बल लगाएर आफ्नो पुरुषत्व वाणी थोपर्ने प्रयास गर्छन्।

अन्त्यमा,

अन्तिम अन्तराका दुई हरफमा युवकमाथि युवती हाबी हुन्छिन्। मायालाई आकाश र धर्तीसँग दाँज्न पुग्छिन् यसरी: 

मायाको विशालता यो आकाश धर्ती नै हो
माया त साँच्चै सुन्दर आत्माको मूर्ति नै हो।

युवतीले मायाको सार संक्षेप भनिसक्दा पनि युवक लिँडेढिपी छोड्दैनन्। फेरि पनि एउटा अमूर्त भनाइ राख्दै आफ्नै बीच बचाउ गर्न छाड्दैनन्: 

तिमी पानीलाई आकार दिने कोशिश नगर।

युवती झन् के कम? सुरिलो स्वरमा जबाफ मैझारो गर्छिन्: 

तिमी हावालाई सद्भाव दिने कोशिश नगर।

मायाबारेको यो बहस छिनोफानोबिनै टुंगिन्छ। 

युगौँदेखि राममान तृषितको यो गीतमा झैँ अनेकन् परिभाषाले जेलिँदै आएको छ प्रेम। प्रेमको अन्तिम र सटिक परिभाषा कसले र कुन युगले दिने हो, थाहा छैन। 

Somewhere i can't agree but a agree many analytical idea. And this is my first song analylisis.

Rabin Pariyar

2 months ago