काठमाडौँका विभिन्न क्षेत्रमा ९४५ वटा सवारीसाधनमा प्रदूषण परीक्षण गर्दा ५१५ वटा अर्थात् ५४ प्रतिशत मापदण्ड विपरीत भेटिएको काठमाडौँ महानगरले जनाएको छ।
काठमाडौँ– काठमाडौँ महानगरपालिकाले प्रदूषण परीक्षण गरेका अधिकांश सवारीसाधन मापदण्ड विपरीत सञ्चालित रहेको भेटिएको छ। काठमाडौँका विभिन्न क्षेत्रमा ९४५ वटा सवारीसाधनमा प्रदूषण परीक्षण गर्दा ५१५ वटा अर्थात् ५४ प्रतिशत मापदण्ड विपरीत सञ्चालित भेटिएका हुन्।
पेट्रोलबाट चल्ने २४९ वटा गाडीको परीक्षण गर्दा ४४ वटा र डिजेलबाट चल्ने ६९६ वटा सवारीसाधनको परीक्षण गर्दा ४७१ वटा प्रदूषण परीक्षणमा ‘फेल’ भेटिएका महानगरले जनाएको छ।
महानगरले वातावरणीय सुधार गरेर शहरी स्वच्छता कायम गराउन ‘वातावरण तथा प्राकृतिक स्रोत ऐन २०७७’, ‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’, ‘फोहोर–मैला संकलन तथा ढुवानी कार्यविधि २०८१’ जारी गरेको छ। यी कानूनमा भएका व्यवस्था कार्यान्वयन गर्दै शहरमा गुड्ने सार्वजनिक सवारीसाधनको प्रदूषण परीक्षण भइरहेको महानगरको भनाइ छ।
‘प्रदूषण नियन्त्रण मापदण्ड २०८१’ मा पेट्रोलबाट चल्ने र डिजेलबाट चल्ने सवारीसाधन र निर्माण अवधिलाई छुट्टाछुट्टै सूचक राखेर मापदण्ड तोकिएको छ। जसअनुसार सन् १९८० सम्म उत्पादन भएका चारपांग्रे सवारीसाधनको कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। सन् १९८१ या त्यसभन्दा पछि उत्पादन भएका सवारीसाधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ३ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।
तीनपांग्रे सवारीको हकमा सन् १९९१ सम्ममा उत्पादन भएका सवारी साधनमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ। दुई पाङ्ग्रे सवारी साधनको हकमा कार्बन मोनोक्साइडको मात्रा अधिकतम ४.५ प्रतिशत (वाइ भोल्युम) हुनुपर्छ।
सन् १९९४ सम्ममा उत्पादन गरिएका सबै किसिमका डिजल सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ७५ हर्टिज स्मोक युनिट (एचएसयु) हुनुपर्छ। सन् १९९५ वा सोभन्दा पछि उत्पादन भएका सवारी साधनका लागि सवारीको धुवाँको घनत्व (स्मोक डेन्सिटी) अधिकतम ६५ हर्टिज स्मोक युनिट –एचएसयु) हुनुपर्छ।
शहरका सडकमा गुडिरहेका सवारीसाधनले मापदण्ड पालनाको अवस्थामा जानकारी लिन पुस २९ गतेदेखि महानगरको वातावरण व्यवस्थापन विभागले वातावरण विभाग, ट्राफिक प्रहरी महाशाखा र महानगर प्रहरी बलसँगको सहकार्यमा प्रदूषण जाँच गरिरहेको छ।
जाँच शुरूआतका चरणमा फेल भएका सवारीसाधनलाई मर्मत गरेर मापदण्डमा सञ्चालन गर्न सुझाव दिइएको छ। वातावरण निरीक्षक सृष्टि श्रेष्ठका अनुसार अहिलेसम्ममा ५५ जना सवारी चालकलाई जरिबाना तिराइएको छ। यसरी मौका प्रदान गर्दा पनि अटेर गर्नेलाई सवारीसाधन सञ्चालनमा रोक लगाउने महानगरको तयारी छ।
परीक्षणका क्रममा सवारीचालक र सहचालकलाई सम्झाउने, कानूनी व्यवस्थाबारेमा जानकारी दिने, सवारीधनीलाई एसएमएसमार्फत सवारीसाधनलाई चुस्त अवस्थामा राख्न आग्रह गर्ने, दोस्रो पटक जाँच गर्दा प्रदूषण मापदण्ड विपरीत पाइएमा कानूनी कारबाही हुने जानकारी गराउनेलगायत प्रक्रियाबाट सुधारको मौका दिएको उनले भनिन्।
अहिलेसम्ममा ठमेल, मैतीदेवी, चाबहिल, खुशिँबु, बालाजु, रातोपुल, कुलेश्वर, कमलपोखरी, वनस्थली, कोटेश्वर, दरबारमार्ग, चक्रपथ बल्खु, बबरमहल, टेकु, सुकेधारा, सिनामंगल, पानीपोखरी र जमल भएर गुड्ने पेट्रोल तथा डिजेलबाट चल्ने सवारी साधनको परीक्षण भएको छ। परीक्षणमा फेल हुने सवारीसाधनमा सार्वजनिक यातायात सेवाका लागि सञ्चालन भएका बस, स्कुल बस, सरकारी कार्यालयले सञ्चालन गरेका बोलेरो, सामान बोक्ने ट्रकलगायतका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
