नेपालमा भएका अनलाइन दुर्व्यवहारका घटनामध्ये ८१ प्रतिशतभन्दा बढी फेसबुकमार्फत हुने गरेको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।
काठमाडौँ– इन्टरनेटको विकाससँगै अनलाइनबाट हुने दुर्व्यवहारका घटना वृद्धि भएका छन्। सामाजिक सञ्जालका विभिन्न प्लेटफर्ममार्फत हुने यस्ता घटना न्यूनीकरणका लागि डिजिटल शिक्षा आवश्यक रहेको सरोकारवाला तथा सञ्चारकर्मीले बताएका छन्।
सुरक्षित इन्टरनेट दिवस २०२५ का सन्दर्भमा ‘अनलाइन दुर्व्यवहारबाट प्रभावित बालबालिका र महिलाको अवस्था तथा सुरक्षित इन्टरनेटका लागि सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा सरोकारवालाले अनलाइनबाट हुने दुर्व्यवहारका घटना न्यूनीकरण गर्न एकजुट हुनुपर्ने औँल्याए।
भ्वाइस अफ चिल्ड्रेन र आइवर्ट नेपालको संयुक्त आयोजना भएको अन्तरक्रियामा अनलाइनबाट हुने दुर्व्यवहारका घटनाको तथ्यांक अध्ययन, रोकथाम तथा न्यूनीकरणका उपायबारे छलफल भएको थियो । कार्यक्रममा महिला आयोगका अध्यक्ष कमला पराजुलीले महिला सँगसँगै बालबालिका पनि अनलाइन दुर्व्यवहारबाट प्रभावित भइरहेकाले त्यसलाई न्यूनीकरण गर्न एकजुट हुनुपर्नेमा जोड दिइन्।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले अनलाइनमार्फत हुने दुर्व्यवहारजन्य घटनाको न्यूनीकरणका लागि सरकारी क्षेत्र सँगसँगै प्रत्येक व्यक्ति, अभिभावक सचेत हुनुपर्ने बताइन्। अन्य सहभागीले डिजिटल शिक्षाका बारेमा सबैलाई जानकारी हुनुपर्नेमा जोड दिए।
राष्ट्रिय बाल अधिकार परिषद्का सदस्य सचिव इन्द्रादेवी ढकालले साइबर हिंसाको सिकारमा धेरै बालबालिका परिरहेको बताउँदै अहिलेको जमानामा इन्टरनेटको प्रयोग नगर्नु भन्न नसकिने उल्लेख गरिन्। उनले इन्टरनेटको सुरक्षित प्रयोगबारे बालबालिकालगायत सबैलाई सिक्ने वातावरण बनाउनुपर्नेमा जोड दिइन्।
भ्वाइस अफ चिल्ड्रेनका कार्यकारी निर्देशक कृष्णकुमार थापाले इन्टरनेटको सुरक्षित प्रयोगका लागि राज्यको नीति निर्माण र त्यसको प्रभावकारी कार्यान्वयन आवश्यक रहेको बताए। साथै सरोकारवाला संघसंस्थाले आआफ्नातर्फबाट सहकार्य गरी सुरक्षित समाज निर्माणमा सहकार्य गर्नु आजको आवश्यकता भएकामा जोड दिएका थिए।
दुर्व्यवहारका घटना बढ्दै
नेपाल प्रहरीको साइबर ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष २०८०/८१ मा ६३५ जना बालबालिका साइबर दुर्व्यवहारमा परेको भनी उजुरी दर्ता भएका थिए। जसमा २५३ बालक थिए भने ३८२ बालिका थिए।
त्यसैगरी, १८ वर्षभन्दा माथिका आठ हजार ७४५ जना महिलाले दुर्व्यवहार भोगेको तथ्यांक छ।
नेपालमा भएका अनलाइन दुर्व्यवहारका घटनामध्ये ८१ प्रतिशतभन्दा बढी फेसबुकमार्फत हुने गरेको तथ्यांकले देखाएको छ।
भ्वाइस अफ चिल्ड्रेन र केएनएच जर्मनीले ५१४ जना बालबालिका, परिवार तथा बालसंरक्षण र बाल न्यायसँग सम्बन्धित सरोकारवालासँग गरेको अध्ययनअनुसार १३ वर्षदेखि १८ वर्ष उमेर समूहका (५५ प्रतिशत बालिका र ४५ प्रतिशत बालक)मध्ये ९७ प्रतिशत इन्टरनेटको पहुँचमा छन्। जसमा बालिकामध्ये ३८.६० प्रतिशतले यौनजन्य सन्देश, ३४ प्रतिशतले अश्लील तस्वीर, १३.६० प्रतिशतले अश्लील लिंक र भिडियो तथा ६.८० प्रतिशतले अनलाइनबाट अन्य दुर्व्यवहार र शोषणमा परेको बताएका छन्।
बालकमा ३२.३० प्रतिशतले यौनजन्य सन्देश, २९.२० प्रतिशतले अश्लील तस्वीर, १५.४० प्रतिशतले अश्लील लिंक र भिडियो आएको तथा ६.२० प्रतिशतले अनलाइनबाट अन्य दुर्व्यवहार र शोषणमा परेको बताएका छन्।
अध्ययनमा सहभागी अभिभावकमध्ये ९९ प्रतिशतले आफूहरू इन्टरनेटको सुविधा भएको, अनलाइन बालयौन दुर्व्यवहारबारे जानकारी भए पनि कानुनी प्रावधानहरू, उजुरी प्रक्रिया, इन्टरनेट सेवा प्रदायकको भूमिका, डिजिटल साक्षरता, अभिभावकीय शिक्षाजस्ता विषयमा जानकारी नभएको पाइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
