८४ वर्षपछि डेस्वाँ बन्न सक्छन् लगातार विश्वकप जित्ने प्रशिक्षक

इटालीका तत्कालीन मुख्य प्रशिक्षक भिटोरियो पोजाले मात्र आफ्नो टिमलाई लगातार दुईपटक विश्वकपको उपाधि जिताएका छन्। फ्रान्सका डिडियर डेस्वाँलाई आइतबार सोही रेकर्ड बराबर गर्ने अवसर छ।

तस्वीर : फिफा

फ्रान्सेली टोलीमा फैलिएको रहस्यमय भाइरस र अर्जेन्टिनी कप्तान लिओनल मेस्सीको उत्कृष्ट प्रदर्शनबारे प्रश्नले शनिबार फ्रान्सका मुख्य प्रशिक्षक डिडियर डेस्वाँ घेरिए। फाइनलको प्रि–म्याच प्रेस कन्फरेन्समा लगातार प्रश्न दोहोरिरहँदा उनको अनुहारमा न रिसको कुनै संकेत थियो, न त उत्तर दिन हतारो नै।

डेस्वाँमाथि पहिलो प्रश्न थियो– चार वर्षअगाडि हात पारेको विश्वकप ट्रफी रक्षा गर्न कतिको चुनौतीपूर्ण ठान्नुहुन्छ?

उनले सहजै उत्तर दिए, “यहाँ सबैभन्दा महत्त्वपूर्ण कुरा टोली हो, म होइन। फाइनलमा उपाधि रक्षा गर्ने मौका छ भन्ने हामी सबैलाई थाहा छ। यहाँसम्म पुग्नुलाई म गौरवको विषय ठान्छु।” 

विश्वकप इतिहासको पाना पल्टाएर हेर्ने हो भने डेस्वाँअघि तीन जना प्रशिक्षकले मात्रै आफ्नो टोलीलाई लगातार फाइनलमा पुर्‍याएका छन्। सन् १९२९ मा मुख्य प्रशिक्षक नियुक्त भएका पूर्वमिडफिल्डर भिटोरियो पोजोले इटालीलाई दुईपटक विश्वकप जिताएका थिए। 

सन् १९३४ मा घरेलु मैदानमा आयोजना भएको दोस्रो संस्करणको विश्वकपमा उनी नेतृत्वको इटालीले प्रि–क्वार्टरफाइनलमा अमेरिकालाई ७–१, क्वार्टरफाइनलमा स्पेन तथा सेमिफाइनलमा अस्ट्रियालाई समान १–० ले हराउँदै फाइनलमा स्थान बनाएको थियो। फाइनलमा चेकोस्लाभिकियालाई २–१ ले हराउँदै उपाधि रक्षा गरेको थियो।

अर्को चार वर्षपछि फ्रान्समा आयोजना भएको विश्वकपमा पनि इटाली उपाधि रक्षा गर्न सफल भयो। उनै पोजोको नेतृत्वमा रहेको टोलीले शानदार जित निकाल्दै पुनः फाइनलमा स्थान बनायो।

फाइनलमा हंगेरीलाई ४–२ गोलले पराजित गर्दै लगातार दोस्रोपटक च्याम्पियन बन्यो। त्यसयता इटालीले सन् १९८२ मा स्पेन र २००६ मा जर्मनीमा आयोजित विश्वकप जित्यो। तर, पोजोले जस्तो लगातार दुईपटक कुनै प्रशिक्षकले उपाधि दिलाउन सकेका छैनन्। 

अर्जेन्टिनाका कार्लोस बिलार्डो र पश्चिम जर्मनीका फ्रान्ज बेकेनबाउरले पनि पोजोले जस्तै लगातार दुईपटक टोलीलाई फाइनलमा पुर्‍याए। तर, उनीहरूले लगातार उपाधि जिताउन भने सकेनन्। सन् १९८३ मा अर्जेन्टिनाको मुख्य प्रशिक्षक नियुक्त भएका कार्लोसले टोलीलाई त्यसको तीन वर्षपछि घरेलु मैदानमा आयोजित विश्वकपको उपाधि दिलाएका थिए। तर, सन् १९९० मा इटालीमा आयोजित विश्वकपको फाइनलमा भने तत्कालीन पश्चिम जर्मनीसँग १–० ले पराजित हुँदै अर्जेन्टिना उपविजेता बन्यो। 

यता स्पेनमा आयोजित विश्वकपको फाइनलमा पश्चिम जर्मनी इटालीसँग ३–१ ले पराजित भएको थियो। त्यसको चारवर्षपछि बेकेनबाउर नेतृत्वमा रहेको टोली पुनः फाइनल पुगेको थियो। तर, अर्जेन्टिनासँग ३–२ ले पराजित भयो। सन् १९९० को विश्वकपमा भने पश्चिम जर्मनीले अर्जेन्टिनालाई फाइनलमा १–० ले हराउँदै तेस्रोपटक उपाधि जितेको थियो।

यसपटक फ्रान्सका मुख्य प्रशिक्षक डेस्वाँले पनि कार्लोस र बेकेनबाउरको जस्तै उपलब्धि हासिल गरिसकेका छन्। लुसेल रंगशालामा आइतबार दुई पटकको विजेता अर्जेन्टिनालाई फाइनलमा पराजित गरे उनले पोजोले झैँ कीर्तिमानी सफलता हात पार्ने छन्। शनिबार पत्रकारसामु उपस्थित उनले आफूले कीर्तिमानभन्दा पनि टोलीको बारेमा सोचेको बताए। “म साँच्चै आफ्नोबारेमा सोच्दिन। यो सफलता पाएकोमा म खुसी छु”, उनले भने, “आइतबार साँझ हामी अझ खुसी छौँ भनेर सुनिश्चित गर्न सक्दो प्रयास गर्नेछौँ।”

सन् १९३४ को विश्वकपमा १६ टोली मात्रै थिए। उक्त प्रतियोगिता १७ दिनमै सकिएको थियो। तेस्रो संस्करणको विश्वकपमा १५ टोली सहभागी भए। यद्यपि, अघिल्लो संस्करणको प्रतियोगितामा भन्दा एक खेल अतिरिक्त खेलाइएको थियो। यति भन्न सकिन्छ कि त्यतिबेला विश्वकपको अवधारणा अहिलेको जस्तो पूर्ण र विकसित भएको थिएन।

कार्लोस र बेकेनबाउर विश्वले अहिलेसम्म भूल्न नसकेका प्रशिक्षक हुन्। यता, पोजो केही हदसम्म बिर्सिएका व्यक्तित्व हुन्। तर, उनले विश्वकपममा इटालियन खाकाको प्रारम्भिक स्केचहरू कोरेका थिए। बलियो डिफेन्डिङ, रिसोर्सफुल मिडफिल्ड र द्रुत फरवार्ड लाइनका लागि उनलाई अझैपनि शक्तिशाली प्रशिक्षकका रूपमा गनिने गरिन्छ। उनकै झल्को दिलाउने प्रशिक्षक हुन् डेस्वाँ। यी सबै गुण देखाएका उनले चार वर्षअघि रसिया विश्वकपमा फ्रान्सलाई दोस्रोपटक विजेता बनाएका थिए। त्यसयता लगातार उत्कृष्ट लयमा रहेको फ्रान्स कतार विश्वकपमा पनि उपाधिनजिक छ। 

तर, डेस्वाँको नेतृत्वमा रहेको फ्रान्सले यसपटक कतारमा कठिन यात्रा तय गरेको छ। टोलीमा रहेका खेलाडीहरूले विश्वकपअघि क्लबमा पनि यस्तै कठिन यात्रा गरेको थिए। स्टार फरवार्ड केलिन एम्बाप्पे पेरिस सेन्ट जर्मन (पीएसजी)मा छिटपुट मात्र चम्किरहेका थिए। अर्का फरवार्ड तथा विंगर एन्टोनी ग्रिजम्यान रिलिज क्लजका कारण ३० मिनेट मात्र एथ्लेटिको मड्रिडको जर्सीमा मैदानमा देखिएका थिए। 

ओलिभर जिरूउडले पनि यो सिजन एसी मिलानमा औसत ६० मिनेट मात्र खेले। सेन्टर–ब्याक इब्राहिम कोनाटेले लिभरपुलबाट यसअघिको सिजनमा मात्र २८० मिनेट मैदानमा बिताएका थिए। उनका साथी राफाएल भाराने विश्वकपको एक महिना नै घाइते भए। फरवार्ड करिम बेन्जेमा, पउल पोग्बा, क्रिस्टोफर एनकुन्कु, एन्टोनियो कान्टे र प्रेस्नेल किम्पेम्बे विश्वकपअघि नै घाइते भए। 

विश्वकपको पहिलो दिन फ्रान्सका लेफ्ट–ब्याक लुकास हर्नान्डेजले खेल गुमाए। मोरक्कोविरूद्धको सेमिफाइनलमा मिडफिल्डर एड्रिएन राबीओट पनि बेन्चमै सिमित भए। 

आइतबारको विश्वकप फाइनलअगाडि पनि फ्रान्सले केही खेलाडी गुमाउने छ। डिफेन्डरद्वय भराने र कोनाटे रहस्यमय भाइरसको संक्रमणका कारण शुक्रबारको अभ्यासमा जोडिएका थिएनन्। यता, मोरक्कोविरुद्धको खेल गुमाएका राबीओट, डायोट उपमेकानो र किङ्स्ले कोम्यानले पनि फाइनल खेल गुमाउने आशंका गरिएको छ। 

प्रशिक्षक डेस्वाँले खेलको केहीअघि मात्रै खेलाडीको बारेमा निर्णय लिने संकेत गरेका छन्। “उत्पन्न विभिन्न परिस्थितिहरूलाई शान्तिपूर्ण रूपमा व्यवस्थित गर्न प्रयास गरिरहेका छौँ। मसँग निश्चित गर्न खेल शुरू हुनुअघिसम्म समय हुने छ”, उनले भनेका छन्। 

–एजेन्सीको सहयोगमा