विश्वकै अग्लो राँगो किंग कंग, ३ वर्षमै ६ फिट उचाइ

शरीरमा विशाल भए पनि किंग कंग स्वभावले निकै प्यारो छ। उसलाई आहाल बस्न, पाकेको केरा खान र फार्ममा काम गर्नेहरूसँग खेल्न मन पर्छ।

थाइल्यान्डको निनलानी फार्ममा पालिएको किंग कंग नाम गरेको राँगो आफ्नो उचाइका कारण अहिले चर्चामा छ।

जम्मा ३ वर्षको किंग कंगको उचाइ खुरदेखि काँधसम्म ६ फिट ०.८ इन्च छ। गिनिज वर्ल्ड रेकर्ड्सले यसलाई विश्वको जीवित अग्लो राँगोको मान्यता दिएको छ। गिनिज वर्ल्डका अनुसार यो सामान्य वयस्क भैँसीभन्दा लगभग २० इन्च अग्लो छ। यसले आफ्नो उमेर र आकारका कारण मानिसहरूको ध्यान आकर्षित गरिरहेको छ।

यसले मकै, घाँस, फलफुल लगायत दिनमा ३५ किलो खाना खान्छ। शरीरमा विशाल भए पनि किंग कंग स्वभावले आक्रामक छैन। ऊ निकै प्यारो र शान्त छ। उसलाई आहाल बस्न, पाकेको केरा खान र फार्ममा काम गर्नेहरूसँग खेल्न मन पर्छ।

फार्मका मालिक सुचार्ट बुनचारोइनले किंग कंग जन्मिने बेला नै उसको कीर्तिमानी उचाइबारे भविष्यवाणी गरेका थिए। २०२१ को अप्रिल १ मा जन्मेको किंग कंगलाई उसको विशाल कदका कारण यो नाम दिइएको थियो, जुन प्रसिद्ध फिल्म गोरिल्लाबाट प्रेरित थियो।

यस्तै, फार्ममा काम गर्ने चेरपट वुट्टी किंग कंगको उचाइ अनौठो ढंगले बढेको बताउँछिन्। साथै उनी भन्छिन्, "ठूलो भए पनि, किंग कंग धेरै प्यारो र आज्ञाकारी छ। उसलाई मानिसहरूसँग खेल्न र दौडन मन पर्छ।"

घोडा फार्मको रूपमा शुरू भएको निनलानी फार्म पछिल्लो समय पानी भैँसी प्रजनन‍्मा केन्द्रित छ। तीन वर्षीय किंग कंग पनि पानी भैँसी प्रजातिको हो।

थाइल्यान्डमा भै‍ँसीको विशेष सांस्कृतिक र ऐतिहासिक महत्त्व रहेको छ। वर्षौंदेखि उनीहरूले कृषि र यातायातमा महत्त्वपूर्ण भूमिका खेल्दै आएका छन्।