ग्यास विस्फोट घटना : उपचारका क्रममा थप १ जनाको मृत्यु

कमलपोखरीस्थित शान्दार मम पसलमा ग्यास सिलिन्डर विस्फोट भई घाइते भएका थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

काठमाडौँ– काठमाडौँको कमलपोखरीस्थित शान्दार मम पसलमा ग्यास सिलिन्डर विस्फोट भई घाइते भएकामध्ये थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी अपिल बोहराका अनुसार शुक्रबार दिउँसो साढे २ बजेतिर थप एक जनाको उपचारका क्रममा मृत्यु भएको हो। 

उदयपुरको उदयपुरगढी गाउँपालिका–७ घर हाल भई काठमाडौँ–२८ बस्ने बस्दै आएका प्रदीप तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। कीर्तिपुर बर्न अस्पतालको आईसीयूमा उपचारका क्रममा उनको मृत्यु भएको हो। 

योसँगै उक्त घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। यसअघि रविन राई र भीमबहादुर घलेको पनि उपचारका क्रममा मृत्यु भएको थियो। 

बिहीबार बिहान शान्दार मम पसलको ग्यास लिक भएर विस्फोट भएको थियो। सो घटनामा त्यहाँ कार्यरत ११ जना गम्भीर घाइते भएकोमा तीन जनाको मृत्यु भएको हो। अन्य घाइतेको कीर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।