हमासले शनिबार रिहा गर्ने ३ बन्धकको नाम सार्वजनिक

युद्धविराम सम्झौता रद्द गर्ने इजरायलको चेतावनीपछि हमासले शनिबार रिहा गर्न लागेका तीन जना बन्धकको नाम सार्वजनिक गरेको छ।

ट्रुफानोभ (बायाँ), हर्न (बीचमा) र सागुई (दायाँ)। तस्वीर : बीबीसी

युद्धविराम सम्झौता रद्द गर्ने इजरायलको चेतावनीपछि हमासले शुक्रबार तीन जना बन्धकको नाम सार्वजनिक गरेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। 

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले शनिबार रिहा हुने बन्धकमा इजरायली–रुसी साशा ट्रुपानोभ, इजरायली–अमेरिकी सागुई डेकेल–चेन र इजरायली–अर्जेन्टिनाका यायर हर्न रहेको जनाएको छ।

प्यालेस्टिनी लडाकु समूह हमासले यस हप्ताको अन्त्यमा तीन जीवित बन्धकलाई रिहा गर्ने या गाजामा पुनः युद्ध शुरू गर्नेमध्ये एक विकल्प रोज्नुपर्ने इजरायली चेतावनीपछि हमासले थप तीन बन्धकको रिहाइका लागि सहमति जनाएको हो। यसअघि, हमासले इजरायलका तर्फबाट युद्धविरामको उल्लंघनको भएको आरोप लगाउँदै बन्धक रिहाइ रोक्ने बताएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाज क्षेत्र अमेरिकाले कब्जा गर्ने प्रस्ताव गरेपछि गाजामा १५ महिनादेखि जारी युद्ध अन्त्यका लागि जनवरी १९ मा भएको युद्धविराम सम्झौता पालनाका लागि प्यालेस्टिनी समूहलाई चर्को दबाब परेको छ।

इजरायली सञ्चारमाध्यमका अनुसार युद्धविराम र ‘निर्धारित समय तालिकाअनुसार’ अर्को आदानप्रदान गर्ने प्रतिबद्धता दोहोर्‍याउँदै हमासले शनिबार बन्धक रिहाइको तयारी थालेको हो।

हमासका प्रवक्ता अब्देल लतिफ अल–कानौले भने, “हामी यसलाई (युद्धविराम) कार्यान्वयन गर्न इच्छुक छौँ र यसलाई पूर्ण रूपमा पालना गर्न कब्जामा रहेका बन्धकको सहारा लिन बाध्य छौँ।”

इजरायलले हमासलाई शनिबार ‘तीन जना जीवित बन्धक’ रिहा नगरे युद्धविराम अन्त्य गर्ने चेतावनी दिएको थियो। सरकारका प्रवक्ता डेभिड मेन्सरले भने, “यदि हमासले हाम्रा कम्तीमा तीन बन्धकलाई शनिबारअघि फिर्ता गर्ने प्रक्रिया अघि नबढाए शनिबार मध्याह्नसम्म युद्धविराम अन्त्य हुनेछ।”

गाजासँग जोडिएको इजिप्टको राफा सीमा क्षेत्रमा ‘बुलडोजर’को लाइन लागेपछि हमासले इजरायलले युद्धको भग्नावशेष हटाउन आवश्यक पर्ने भारी मेसिनरीको आपूर्ति रोकेको आरोप लगाएको थियो।