बागलुङको सामुदायिक वनमा डढेलो, जोखिममा भेडीगोठ

शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन नसकिएको स्थानीयले बताएका छन्। आगलागीका कारण उक्त क्षेत्रमा रहेका १०० भन्दा बढी भेडीगोठ जोखिममा छन्।

ढोरपाटन– बागलुङको निसीखोला गाउँपालिका–६ सिंवाद्वार क्षेत्रमा लागेको आगो अझै निभाउन सकिएको छैन। शुक्रबार दिउँसो २ बजेदेखि लागेको आगो निभाउन नसकिएको भएको गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्ती मगरले बताए। 

सिंवाद्वार, सीप, तिग्रापानी, कोस्काँ, सुन क्षेत्रका सामुदायिक वनमा आगो लागेको हो। आगलागीका कारण उक्त क्षेत्रमा रहेका १०० भन्दा बढी भेडीगोठ जोखिममा रहेको उनले बताए। आगो निभाउन स्थानीय र निसी प्रहरी चौकीबाट टोली खटिएको छ। 

“आगलागी भएको क्षेत्र निसीखोलाका किसानले भेडा चरनका रूपमा प्रयोग गर्ने ठाउँ हो, त्यहाँ १०० भन्दा बढी गोठ र हजारौँको संख्यामा भेडाबाख्रा छन्, ति सबै आगलागीको जोखिममा छन्,” उनले भने।