पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा बेलुन फुट्दा अर्थमन्त्री र नगरप्रमुख घाइते

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन्।

पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक घोषणा समारोहमा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत । तस्वीरः वासुदेव पौडेल/रासस

गण्डकी– पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुट्दा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन्।

रिमोर्टबाट दीप प्रज्वलनपछि बेलुन उडाउने क्रममा आगोको ज्वालाले बेलुनमा टिपेपछि ठूलो आवाजसहित बेलुन पड्किएको थियो।

बेलुन पड्किएपछि महानगरप्रमुख आचार्यको गालामा आगोको झिल्काले छोएको थियो भने उपप्रधान तथा अर्थमन्त्री पौडेलको कोटमा आगोको छिर्का लागेको थियो।

महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको उनका प्रेस संयोजक भीम थापाले जानकारी दिए।

अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको नेकपा (एमाले) कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए। उनलाई सामान्य चोट लागेको उनले बताए।