अर्थमन्त्री पौडेल र पोखराका नगरप्रमुख आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइयो

पोखरा भ्रमण वर्ष उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुटेर घाइते भएका अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ।

काठमाडौँ– उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। 

शनिबार दिउँसो पोखरा भ्रमण वर्ष, २०२५ उद्घाटनका क्रममा आगोको ज्वालाले बेलुन फुटेर उनीहरू घाइते भएका थिए। पोखरामा सामान्य उपचारपछि उनीहरूलाई हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो। 

घटनालगत्तै अर्थमन्त्री पौडेललाई उपचारका लागि गण्डकी मेडिकल कलेज शिक्षण अस्पताल लगिएको थियो भने  महानगरप्रमुख आचार्यलाई उपचारका लागि फिस्टेल हस्पिटल लगिएको थियो।   

त्यहाँ अर्थमन्त्री पौडेलको सामान्य उपचारपछि थप उपचारका लागि काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्रीले जानकारी दिए। 

मन्त्री पौडेलको दुवै हात, अनुहार र घाँटी आसपासमा आगोले जलेको जनाइएको छ। महानगरप्रमुख आचार्यको अनुहार तथा गालामा आगोले जलेको छ।