धौलागिरि आधार शिविर पुग्न जोखिमपूर्ण यात्रा

धौलागिरि आधार शिविर जाने पदमार्गमा पर्ने कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा अक्करे भिर पार गर्न डोरी र खरको गाँजको सहारा लिनुपर्छ। 

म्याग्दी– म्याग्दीको रघुगंगा गाउँपालिका–७ मा रहेको धौलागिरि आधार शिविर पुग्न डोरीमा झुन्डिएर जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ। कोखेभिर र धौलागिरि भ्यु प्वाइन्ट हिलमा अक्करे भिर पार गर्न डोरी र खरको गाँजको सहारा लिनुपर्छ। 

कोखेभिरमा ५० मिटर र धौलागिरि भ्यु प्वाइन्टमा करिब १०० मिटर बाटो जोखिमपूर्ण रहको धौलागिरि आधार शिविर पुगेर फर्किएका पोखराका पर्यटन व्यवसायी तारा गर्बुजा पुनले बताए। “बेनी–चिमखोला–घ्याँसीखर्क हुदै सुगुरथलासम्म राहुघाट र सहायक नदीमा निर्माणाधीन जलविद्युत् आयोजनाले बनाएको सडकमा चार घण्टा सवारी साधन मार्फत पुग्न सकिन्छ,” उनले भने, “कोखेभिर र धौलागिरि भ्यु पोइन्टमा पदमार्ग नहुँदा धौलागिरि आधार शिविरमा पर्यटक पुग्न सकेका छैनन्।” 

दुई ठाउँमा पदमार्ग र राहुघाट नदीको केही ठाउँमा अस्थायी साँघु अथवा स्थायी प्रकृतिका झोलुंगे पुल बनाउन सकेमा छोटो दूरीमा पुगिने धौलागिरि आधार शिविर नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुने सम्भावना रहेको गर्बुजाले बताए। 

आधार शिविर चार हजार ५० मिटर उचाइमा रहेको छ। पदमार्ग र राहुघाट नदीको पाँच ठाउँमा झोलुंगे पुल बनाउन सके सुगुरथलादेखि ६ घण्टा पैदलयात्रा गरेर आधार शिविर पुग्न सकिन्छ। पदमार्ग, पुल बनाउन र संकेत चिन्ह नहुँदा समस्या हुने गरेको छ। 

धौलागिरि हिमालको फेदमा पुगेर चुचुरोसम्म नजिकबाट नियाल्न पाउनु आधार शिविरको प्रमुख आकर्षण हो। सुन छहरा, निलिबराह र कालीबराहलगायत तालको पनि अवलोकन गर्न सकिन्छ। यो पदमार्ग भएर स्थानीय वैशाख–जेठ महिनामा यार्सागुम्बा संकलनका लागि धौलागिरि आधार शिविर क्षेत्रमा जान्छन्।

पर्यटन मन्त्रालयको १ करोड ५४ लाखको लागतमा गत वर्ष ससलधारादेखि आधार शिविर जोड्ने १८ किलोमिटर पदमार्ग निर्माण गरिएको थियो। उक्त योजना सर्वेक्षणका क्रममा भिरलाई छुटाइएकाले त्यहाँ पदमार्ग निर्माण हुन नसकेको रघुगंगा गाउँपालिका–७ का वडाध्यक्ष थकप्रसाद पाइजा (रिम)ले बताए।

“जहाँ अप्ठेरो थियो, त्यहाँ पदमार्ग नबनेपछि हामीले प्रदेश र संघीय सरकारसँग थप बजेटको माग गरेका छौँ,” उनले भने, “कम्तीमा अक्करे भिरमा डोरीको सहायताले हिँड्नुपर्ने ठाउँमा सुरक्षित पदमार्ग बनाउन सक्यौँ भने आइसफल पदमार्ग र आधार शिविर क्षेत्रमा पर्यटक बढ्नेछन्।”