पहाडी भेगका केही स्थानमा वर्षाको सम्भावना

माैसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।

काठमाडाैँ–  हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ।‍ तराईका केही भूभागमा हुस्सु/कुहिरो लागेको छ।

माैसम पूर्वानुमान महाशाखाका अनुसार देशमा पश्चिमी वायुका साथै पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ। यसले गर्दा सोमबार दिउँसो पहाडी भूभागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भूभागका थोरै  स्थानहरूमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।

यस्तै, राति सुदूर-पश्चिमलगायत कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।