त्रिवि प्रशासनमा कार्यालय सहयोगीका लागि आवेदन दिन गोविन्द स्नातकोत्तरका प्रमाणपत्र बोकेर गएका थिए। आवेदन त दिन पाएनन्, अर्को वर्ष त्रिवि अन्तर्गतकै क्याम्पसमा पढाउने अवसर पाए।
काठमाडौँ– रत्न राज्यलक्ष्मी क्याम्पसको कक्षाकोठामा डा. गोविन्दप्रसाद आचार्य पढाउन व्यस्त छन्। उनी नेपाली विषयको पाठ बुझाइरहेछन्, विद्यार्थी ध्यानमग्न सुनिरहेछन्।
गोविन्द साढे दुई दशकदेखि प्राध्यापनरत छन्। उनी दृष्टिविहीन हुन्। पढाउने उनको फरक शैली विद्यार्थीले रुचाएका छन्। यहाँसम्म आइपुग्न उनले गरेको संघर्ष प्रेरणादायी छ।
२०२२ सालमा अर्घाखाँचीको अर्घाअँधेरीमा उनको जन्म भएको थियो। उनकी दिदी पनि जन्मजात दृष्टिविहीन छिन्। उनीपछिकी बहिनी पनि दृष्टिविहीन नै जन्मिइन्।
दिदीसँगको हुर्काइमा उनले आफू दृष्टिविहीन भएको महसुस नै गरेनन्। “म जे देखिरहेको छु, सबैले यस्तै देख्छन् होला वा महसुस नै गरेर संसार बुझ्छन होला भन्ने सोचेको थिएँ,” उनी भन्छन्।
६ वर्षको भएपछि साथीहरूसँग खेल्न बाहिर जान थाले। यसरी जाँदा कहिले लड्थे। कहिले सिस्नोघारीमा पस्थे। कहिले पाखातिर ढुंगामा बजारिन्थे। बल्ल उनलाई आफू दृष्टिविहीन भएको महसुस हुन थाल्यो।

अरूभन्दा फरक क्षमता भए पनि गोविन्दलाई साथीभाइ हौसला दिन्थे। परिवारका सदस्यले दिदीबहिनी र उनलाई अन्यसरह व्यवहार गर्थे। त्यही कारण कहिले कमजोर महसुस गर्नु परेन।
तर उनको शिक्षा ढिला शुरू भयो। विद्यालय घरभन्दा टाढा थियो। आवतजावत गर्नै समस्या। फरक क्षमता भएकाहरूका लागि व्यवस्थित र व्यवहारिक शिक्षाको शुरूआत भएकै थिएन।
ब्राह्मण पविारमा हुर्केको हुँदा वेद, पुराण र गीताका मन्त्र भने सुन्दै आएका थिए। “नदेख्ने भएपछि के पढ्छ र भन्ने समाजको मान्यता थियो, त्यसैले समयमा विद्यालय जान पाइएन,” उनी भन्छन्।
काकाले बालिदिएको शिक्षाको ज्योति
गोविन्दका साइँला काका जेबी शिक्षक थिए। गोविन्द ९ वर्षको हुँदा काका सरुवा भएर गाउँकै शान्ति माविमा आए। त्यो बेलासम्म उनी विद्यालय गएका थिएनन्। ‘नदेखे पनि सुनेर सिक्छ’ भनेर काकाले आफूसँगै विद्यालय लैजान थाले।
विद्यालयमा पढाएको कुरा सुन्थे र घरमा आएर गृहकार्य गर्थे। पढाइप्रति उनको रुचि धेरै थियो। काकाले घरमा अरू बालबालिकालाई ट्युसन पढाउँदा उनी पनि छेउमै बसेर सुन्थे। उनी त आफ्नो कक्षाको मात्र नभई विद्यालयमै उत्कृष्ठ भए। “अरूले देखेर, लेखेर र सुनेर भन्न नसक्ने कुरा म सुनेकै भरमा बताइदिन्थेँ। साथीहरू मात्र नभई शिक्षक र शिक्षिका पनि अचम्मित हुन्थे,” उनी भन्छन्।
गाउँमा गोविन्दको विद्यालय यात्रा सात महिनामै टुंगियो। परिवारकै सल्लाहअनुसार उनी थप अध्ययनका लागि काठमाडौँ आउने भए। त्यही बेला उनका बुवाको निधन भयो। अनि, एक वर्ष घरैमा बसे।
बुवाको वार्षिकी सकिनासाथै २०३३ सालमा गोविन्द काठमाडौँ आए। सरकारले कीर्तिपुरको ल्याबरेटोरी स्कुलमा दृष्टिविहीनहरूलाई पढाउने व्यवस्था गरेको थियो। उनी त्यहीँ भर्ना भए।
पहिलो वर्ष ब्रेल अक्षर सिक्न थाले। गाउँमा छँदा विद्यालयमा पढेको ज्ञानले काठमाडौँमा पनि सहयोग गर्यो। उनी आधारभूत तहमा उत्कृष्ट थिए नै, एक वर्ष ब्रेलको अभ्यासपछि सिधै कक्षा ४ मा भर्ना भए। उनले कक्षा १० सम्म ल्याबरेटोरी स्कुलमै पढे।

उक्त स्कुलमा पढ्दा उनीजस्ता बालबालिकाले अनेक तिखा वचन सुन्नुपर्थ्यो। एक जनाले आफ्नै सामुन्ने ‘यस्ता बच्चाहरूलाई पढाएर सरकारको लगानी खेर गइराको छ, यिनीहरूलाइ लगानी लगाएर के फाइदा’ भनेको सुन्दा खिन्न भएको उनी बताउँछन्।
उनको मानसपटलमा घुमिरहने अर्को तितो प्रसंग पनि छ। एक पटक अभिभावकहरूले ‘दृष्टिविहीन सरुवा रोग भएको’ भन्दै आफ्ना छोराछोरीलाई सर्नसक्ने भएकाले छुट्टै राखिदिन आग्रह गरेका थिए। त्यो समाजमा यस्ता अनेक भ्रम थिए।
गोविन्दसँग कक्षा ४ देखि कक्षा १० सम्म पढ्दा भोगेका धेरै नमिठा याद छन्। तीभन्दा धेरै चाहिँ भुल्न नसकिने साथीभाइसँगका रमाइला पल र शिक्षकहरूले दिएको मायाको सम्झना छन्। उनी भन्छन्, “अब फेरि ती दिन कहिल्यै फर्कने छैनन्, साथीभाइसँगको हँसिमजाक गर्ने दिन गए।”
रोकिँदै–पढ्दै विद्यावारिधि र जागिर
गोविन्दको सपना न्यायाधीश बन्ने थियो। अधिवक्ता बनेर जनताको पक्षमा वकालत गर्ने थियो। आफ्नो सपना पछ्याउँदै उनी २०४२ सालमा पोखरा पुगे। पृथ्वीनारायण क्याम्पसमा कानूनमा भर्ना भए। केही समयको अध्ययनपछि आफ्नो उद्देश्यबाट पछि हट्नुपर्ने भयो।
त्यहाँ दृष्टिविहीनलाई पढ्ने व्यवस्था राम्रो थिएन। पुस्तकहरूको अभाव भयो। अनि एक वर्ष नपुग्दै कानून विषय त्यागे। तर पढ्ने इच्छा मेटिएको थिएन।
उनी पृथ्वीनारायण क्याम्पसमै शिक्षा संकायमा भर्ना भए। अध्ययनसँगै उनी राजनीतिमा पनि संलग्न भए।
पोखराबाट स्थानान्तरण गरी दोस्रो वर्ष काठमाडौँको ताहाचलस्थित महेन्द्ररत्न क्याम्पसमा आए। काठमाडौँ आएको वर्ष नै पढाइ छाडी राजनीतिक कामको सिलसिलामा भारत गए।
भारतमा केही समय बसेर २०४७ सालमा मात्र गोविन्द नेपाल फर्किए। नेपाल फर्किएपछि फेरि पढाइ थाले। त्यसपछि क्रमशः बीएड, एमएड, एमए र एक वर्षे बीएड गरे। त्यतिमा नै रोकिएनन्। उनले ‘नेपाली प्रगतिवादी खण्डकाव्यका प्रवृत्ति’ विषयमा विद्यावारिधि गरे।

अब उनी जागिरको खोजीमा लागे। २०५६ सालतिर जागिरको खोजीमा निकै भौतारिए। धेरै ठाउँमा आवेदन दिए, तर काम पाएनन्। शारीरिक अवस्थाका कारण उनको क्षमतालाई धेरैले पत्याएनन्।
त्यसैताका त्रिभुवन विश्वविद्यालय प्रशासनले कार्यालय सहयोगीका लागि आवेदन खोल्यो। ‘काम सानो–ठूलो हुँदैन,’ यही सोचेर उनी आफ्ना प्रमाणपत्र लिएर आवेदन दिन त्रिवि प्रशासन पुगे। प्रशासनले कार्यालय सहयोगीमा राख्न मानेन। तर जागिर मिलाइदिने आश्वासन पाए।
त्रिवि प्रशासन कार्यालयले २०५७ सालमा जागिरको व्यवस्था गरिदियो। उनले आंशिक प्राध्यापक भएर रत्न राज्यलक्ष्मी क्याम्पसमा नेपाली पढाउन पाए। तर उनलाई स्थायी जागिर खाने इच्छा थियो।
आचार्यले शिक्षक सेवा आयोगको तयारी थाले। २०६० सालमा शिक्षक सेवा आयोगबाट मावि तहमा नाम निकाल्न सफल भए। उनको दरबन्दी कीर्तिपुरको मंगल माविमा भयो। उनी रत्न राज्यलक्ष्मी क्याम्पस र मंगल मावि दुवैतिर पढाइरहेका थिए।
२०६४ सालमा आंशिक प्राध्यापकहरूले करार नियुक्तिका लागि आन्दोलन थाले। उनी पनि स्थायी शिक्षकबाट राजीनामा दिएर आन्दोलनमा सहभागी भए। आन्दोलन सफल भयो, आंशिक प्राध्यापक करारमा नियुक्त हुन पाए।
उनी साहित्यमा पनि रुचि राख्छन्। विद्यालय पढ्दा शिक्षक कृष्णहरि बरालबाट प्रेरित थिए। बराल सरले कविता, गीत सुनाउँथे। उनी पनि कविता लेख्न रुचाउँछन्। उनको ‘सिमाना र चराहरू’ कवितासंग्रह प्रकाशित छ। यस पुस्तकमा ७२ वटा कविता छन्।

उनी हार मान्ने मानिस होइनन् भन्ने उनको पछिल्लो शैक्षिक उपलब्धिले पनि पुष्टि हुन्छ। करिब चार दशकअघि छाडेर हिँडेको कानून विषयको पढाइ उनले भर्खरै पूरा गरेका छन्। नेपाल ल क्याम्पसमा भर्ना भएर उनले गत वर्ष एलएलबी उत्तीर्ण गरे।
अब आफ्नो जीवनको लक्ष्य दृष्टिविहीनहरूको जीवनयापनमा सहजीकरण गर्नु नै भएको उनी बताउँछन्। सडक पूर्वाधार विकास दृष्टिविहीन र शारीरिक अशक्ततामैत्री नहुँदा उनलाई दुःख लाग्छ।
“सरकारले दृष्टिविहीन र शारीरिक अशक्तता भएकाहरूको लागि रोजगारसँगै तालिमको व्यवस्था गर्नुपर्छ,” उनी भन्छन्, “सरकारीस्तरमा पुस्तकालय बनाइदिए हाम्रो लागि धेरै सजिलो हुने थियो, सडकमा बसेर माग्नुपर्ने अवस्था आउँदैनथ्यो।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
