भारतको उडिसामा बिटेक अध्ययनरत नेपाली छात्राको मृत्यु

विद्यार्थीहरू प्रदर्शनमा उत्रिएपछि क्याम्पस प्रशासनले सम्पूर्ण नेपाली विद्यार्थीहरूलाई तुरुन्त क्याम्पस छाडी जानको लागि सूचना नै जारी गरेको छ।

होस्टेलबाहिर विद्यार्थीको विरोध

काठमाडाैँ– भारतको उडिसामा बिटेक तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा मृत भेटिएकी छन्।

'कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी' (किट)मा अध्ययनरत प्रकृति लम्साल नाम गरेकी ती छात्रा कलेजकै होस्टेलमा आइतबार साँझ मृत अवस्थामा भेटिएकी भारतीय सञ्चारमाध्यमले जनाएका छन्। उनको शव होस्टेलको आफ्नै कोठामा भेटिएको प्रहरीलाई उद्धृत गर्दै 'द न्यु इन्डियन एक्सप्रेस'ले लेखेको छ।

किटले विज्ञप्ति जारी गर्दै उक्त घटनालाई आत्महत्या भएको बताएको छ। त्यही कलेजमा अध्ययनरत अर्का विद्यार्थीसँगको प्रेम सम्बन्धका कारण आत्महत्या गरेको हुनसक्ने विज्ञप्तिमा उल्लेख छ। 

तर त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले भने उनका पूर्वप्रेमी एडभिक श्रीवास्तवाले पटकपटक ब्ल्याकमेल गरेको र त्यसबारे कलेजलाई जानकारी गराउँदा पनि कलेजले कुनै कदम नलिएको गुनासो गरेका छन्।

क्याम्पसको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग तथा क्याम्पस प्रशासनमा पटक–पटक गुनासो गर्दा क्याम्पस प्रशासनले कुनै पनि कदम नचालेको र उल्टै भएका सम्पूर्ण प्रमाण मेटाउने प्रयास गरेको उनीहरूको भनाइ छ। क्याम्पस प्रशासनलाई गुनासो गर्दा उल्टै विद्यार्थीलाई तथानाम गालीगलौज गर्दै होच्याएर कुरा दबाउन खोजिएको बताइएको छ।

नेपाली विद्यार्थीले फेसबुकमा सार्वजनिक गरेका भिडियोमा कलेजका महिला शिक्षिकाले विद्यार्थीलाई धम्की दिइरहेको देखिन्छ। यस्तै, अर्को भिडियोमा प्रदर्शनमा उत्रिएका विद्यार्थी समूहलाई प्रहरीले बलपूर्वक नियन्त्रण गरिरहेको देखिन्छ। 

आरोपी युवक र प्रकृतिबीचको भ्वाइस नोट पनि सार्वजनिक भएको छ, जसमा ती युवकले अपशब्द प्रयोग गर्दै उनलाई दुर्व्यवहार गरेको सुनिन्छ। 

ती छात्राको न्यायको माग गर्दै विद्यार्थी प्रदर्शनमा उत्रिन थालेपछि क्याम्पस प्रशासनले सम्पूर्ण नेपाली विद्यार्थीलाई तुरुन्त क्याम्पस छाडी जानका लागि सूचना नै जारी गरेको छ।

"नेपालबाट आउने सबै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। उनीहरूलाई १७ फेब्रुअरी, २०२५ मा तुरुन्तै विश्वविद्यालय क्याम्पस खाली गर्न निर्देशन दिइएको छ," सूचनामा भनिएको छ।