हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट शुरू भएको आगोले चार वटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायतका संरचना जलेका छन्।
खोटाङ– खोटाङको हलेसी बजारमा भएको आगलागीमा सात करोड ३० लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ। हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानस्थित हलेसी बजारका पदमशेर राईको भान्छा कोठाबाट गएराति शुरू भएको आगोले चार वटा घर, तीनवटा होटल, एउटा हार्डवेयर पसल, लघुवित्तको कार्यालयलगायत जलेर नष्ट भएको हो।
आगलागीमा पदमशेरको काठ र जस्तापाताले बनेका तीनतले घर, पहिलो तलामा राखिएको हार्डवेयर पसल, दोस्रो तलामा सञ्चालित निर्धन उत्थान लघुवित्त संस्थाको कार्यालयलगायत सामग्री जलेर नष्ट हुँदा करिब चार करोड रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक प्रतिवेदनमा देखिएको निमित्त प्रमुख जिल्ला अधिकारी हीराधन राईले जानकारी दिए।
निमित्त प्रमुख जिल्ला अधिकारी राईका अनुसार स्थानीय आइराख राईको न्यू–कल्याण होटल, चारतले पक्की घर र घरको पछाडिपट्टि दुईतले काठको घर गरी दुई करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ। साँझ करिब ७ बजेदेखि शुरू भएको आगलागीमा परेर स्थानीय प्रकाशचन्द्र गिरीको हलेसी दर्शन होटलको फलामको ट्रसले बनेको एकतले भान्छा घर र दुईतले पक्की घरमा आंशिक क्षति हुँदा ३० लाख रुपैयाँ बराबरको क्षति भएको जनाइएको छ। आइराख राईको घरसँगै जोडिएको भरणशेर राईको पारूहाङ होटल, चारतले पक्की भवनको दोस्रो र तेस्रो तलामा आंशिक क्षति हुँदा अन्दाजी ५० लाख रुपैयाँ बराबरको भएको छ।
आगलागीमा मानवीय क्षति नभए पनि ठूलो मात्रामा धनसम्पत्ति तथा भौतिक सामग्री जलेर नष्ट भएको हलेसी तुवाचुङ नगरपालिकाका प्रवक्ता एवं वडा नं ७ महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिए। “आगलागी नियन्त्रण गर्न बेलैमा सबैको सहयोग उपलब्ध भयो। रातको समयमा भए पनि मानवीय क्षति हुनबाट जोगाउन सफल भयौँ”, उनले भने, “आगलागी पीडितका लागि राहत उपलब्ध गराउन विभिन्न निकायसँग समन्वय गरिरहेका छौँ। संकलित राहत एकद्वार प्रणालीमार्फत वितरण गर्ने सर्वपक्षीय निर्णय गरिएको छ।”
आगो नियन्त्रणमा रणभीम गण मुढे ब्यारेक, सशस्त्र प्रहरी बल ७ नं वाहिनी हलेसी गुल्म, नेपाल प्रहरी, जिल्ला प्रशासन, स्थानीय तह, स्थानीयलगायत गरी करिब ५०० जना खटिएका थिए। स्थानीय पदमशेर राईको ग्यास पसलनजिकै रहेको भान्छा कोठाबाट आइतबार साँझ करिब ७ बजेतिर शुरू भएको आगो साढे चार घण्टापछि साढे ११ बजेतिर नियन्त्रणमा आएको थियो।
सुक्खाग्रस्त क्षेत्रमा पर्ने हलेसीमा भएको आगलागी नियन्त्रणमा लिनका लागि पानी अभाव भएकाले समस्या भएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए। हिन्दू, बौद्ध किरात धर्मावलम्बीको संगमस्थल हलेसी बजारमा भएको आगलागीबाट दमकल अभावका कारण समयमै नियन्त्रण गर्न नसक्दा ठूलो क्षति भएको हो।
हलेसी बजारमा भएको आगलागी सबैको सहयोगले तत्कालै नियन्त्रणमा लिन सफल भएको हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राईले जानकारी दिए। “नगरपालिकामा दमकल छैन। दमकल नहुँदा आगलागी नियन्त्रणमा निकै समस्या भयो। तर, उपलब्ध स्रोत र साधन प्रयोग गरेर करिब साढे ४ घण्टापछि आगो नियन्त्रणमा लिन सफल भयौँ”, उनले भने, “आगलागीमा ठूलो क्षति भएको छ। क्षति भए जति त आगलागी पीडितलाई राहत उपलब्ध गराउन सक्दैनौँ । यद्यपि, गृहमन्त्री, सम्बन्धित मन्त्रालय लगायतसँग समन्वय भइरहेको छ । आगलागी पीडितका लागि चाँडै मलमपट्टि लगाउने प्रयास गरिरहेका छौँ।”
हलेसीमा भएको आगलागी घटनाका विषयमा विभिन्न निकायले दुःख व्यक्त गर्दै आगलागी पीडितका लागि तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दालाल ‘प्रचण्ड’ लगायतले आगलागी पीडितका लागि तत्काल राहतको व्यवस्था गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
