नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले उडिसाको किट विश्वविद्यालयले नेपाली विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी दिएको जनाएको छ।
काठमाडौँ– नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले नेपाली विद्यार्थीको मृत्यु र विद्यार्थीलाई निकालिएको घटनाबारे भारतको उडिसास्थित कालिंगा इन्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (किट) विश्वविद्यालयका प्रतिनिधिसँग छलफल गरेको र उनीहरू यो घटनालाई गम्भीरतापूर्वक लिएको बताएको छ।
राजदूतावासले सोमबार साँझ विज्ञप्ति जारी गर्दै किटले विद्यार्थीहरूलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी गराएको जनाएको छ।
“छलफलमा यस राजदूतावासले सो शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीको सुरक्षा सुनिश्चित गर्दै शैक्षिक संस्थाको छात्रावासमा नै बस्ने प्रबन्ध मिलाउन अनुरोध गरेको थियो। त्यसैगरी उक्त शैक्षिक संस्थामा रहेका नेपाली विद्यार्थीको कक्षा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाउनसमेत अनुरोध गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ, “यस राजदूतावासबाट अनुरोध भयबमोजिम उक्त शैक्षिक संस्थाले सोहीअनुसार विद्यार्थीलाई छात्रावासमा बस्ने व्यवस्था मिलाई नेपाली विद्यार्थीका लागि कक्षा सञ्चालनको व्यवस्था गर्ने जानकारी यस राजदूतावासलाई गराएको छ।”
राजदूतावासले किटकी विद्यार्थी प्रकृति लम्सालको मृत्युको सम्बन्धमा स्वतन्त्र एवं निष्पक्ष तवरले अनुसन्धानमा जोड दिएको थियो। किटले उक्त विषयलाई गम्भीरतापूर्वक लिने प्रतिबद्धता व्यक्त गरेको राजदूतावासले जनाएको छ।
राजदूतावासले घटनाका सम्बन्धमा नेपाली विद्यार्थी, भारतको केन्द्रीय सरकार तथा उडिसाका मुख्यमन्त्री कार्यालय तथा अन्य सम्बन्धित भारतीय निकायसँग निरन्तर सम्पर्क गरिरहेको र आवश्यक सहयोग एवं समन्वय भइरहेको जनाएको छ।
उक्त घटनामा मेकानिकल इन्जिनियरिङका तेस्रो वर्षका विद्यार्थी एडभिक श्रीवास्तवलाई सोधपुछका लागि प्रहरीले पक्राउ गरेको शैक्षिक संस्थाले विज्ञप्ति जारी गरेर जनाएको छ।
किटले जारी गरेको विज्ञप्तिमा नेपाली विद्यार्थी होस्टेलमा फर्किन सक्ने, तर स्वैच्छिक रूपमा होस्टेल छोड्न चाहनेहरूलाई नरोकिने उल्लेख छ। नेपाली विद्यार्थीका लागि अध्ययन गर्न वैकल्पिक व्यवस्था गरिने पनि जनाइएको छ। त्यस्तै, संस्थाले घटनाको निष्पक्ष छानबिनका लागि अधिकारीहरूलाई सहयोग गर्ने प्रतिबद्धतासमेत जनाएको छ।
किटमा अध्ययनरत नेपाली विद्यार्थी लम्साल कलेजकै होस्टेलमा आइतबार साँझ मृत अवस्थामा भेटिएकी थिइन्। उनको शव होस्टेलको आफ्नै कोठामा भेटिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
किटले विज्ञप्ति जारी गर्दै उक्त घटनालाई आत्महत्या भएको बताएको थियो। तर त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले भने उनका पूर्वप्रेमी एडभिक श्रीवास्तवाले पटक–पटक ब्ल्याकमेल गरेको र त्यसबारे कलेजलाई जानकारी गराउँदा कलेजले आवश्यक कदम नचालेको गुनासो गरेका छन्।
क्याम्पसको अन्तर्राष्ट्रिय सम्बन्ध विभाग तथा क्याम्पस प्रशासनमा पटक–पटक गुनासो गर्दा क्याम्पस प्रशासनले कुनै पनि कदम नचालेको र उल्टै भएका सम्पूर्ण प्रमाण मेटाउने प्रयास गरेको उनीहरूको भनाइ छ।
नेपाली विद्यार्थीले फेसबुकमा सार्वजनिक गरेका भिडियोमा कलेजका महिला शिक्षिकाले विद्यार्थीलाई धम्की दिइरहेको देखिन्छ। यस्तै, अर्को भिडियोमा प्रदर्शनमा उत्रिएका विद्यार्थी समूहलाई प्रहरीले बलपूर्वक नियन्त्रण गरिरहेको देखिन्छ।
आरोपी युवक र प्रकृतिबीचको भ्वाइस नोट पनि सार्वजनिक भएको छ, जसमा ती युवकले अपशब्द प्रयोग गर्दै उनलाई दुर्व्यवहार गरेको सुनिन्छ।
ती छात्राका लागि न्यायको माग गर्दै विद्यार्थी प्रदर्शनमा उत्रिन थालेपछि क्याम्पस प्रशासनले सम्पूर्ण नेपाली विद्यार्थीलाई तुरुन्त क्याम्पस खाली गर्न सूचना जारी गरेको थियो। “नेपालबाट आउने सबै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि विश्वविद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ। उनीहरूलाई १७ फेब्रुअरी, २०२५ मा तुरुन्तै विश्वविद्यालय क्याम्पस खाली गर्न निर्देशन दिइएको छ,” सूचनामा भनिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
