संसद्मा झूट बोलेको अभियोगमा सिंगापुरका विपक्षी नेतालाई जरिबाना

सिंगापुर वर्कर्स पार्टीका महासचिव प्रितम सिंह एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोगमा दोषी ठहर भएका हुन्।

सिंगापुरका विपक्षी दलका नेतालाई संसद्मा झूट बोलेको अभियोगमा सोमबार अदालतले जरिबाना गरेको छ। सिंगापुर वर्कर्स पार्टीका महासचिव ४८ वर्षीय प्रितम सिंह एक सांसदमाथि छानबिन गरिरहेको संसदीय समितिसमक्ष झूट बोलेको अभियोगमा दोषी ठहर भएका हुन्।

केही महिनाभित्रै हुने चुनावमा वर्कर्स पार्टीले सत्तारुढ पिपुल्स एक्सन पार्टी (पीएपी) को अत्यधिक प्रभुत्वलाई चुनौती दिन खोजिरहेका बेला यो सजाय आएको हो।

सिंहले सांसद रईसाह खानलाई आफ्नो दाबीलाई सही साबित गर् अह्राएका थिए। तर ‘बनावटी कुरा’ गर्न उनी चुकेको जिल्ला अदालतका न्यायाधीश ल्यूक टानले बताए। 

न्यायाधीशले खानको बयानलाई उद्धृत गर्दै भने, “सिंहले खानलाई बैठकको क्रममा आफ्नो दाबीलाई वास्तविक प्रमाणित गर्न’ हदैसम्मको अभिनय गर्न भनेको रहेछन् तर खानले सिंहले भनेजस्तो गर्न सकेनन्।”

अदालतबाहिर पत्रकारसँग राजनीतिक प्रतिशोध लिने मनसायबाट सत्तारूढ दलले आफूलाई फसाएको उल्लेख गर्दै उनले भने, “मसँग भएको सल्लाह र मलाई शुभेच्छुकले दिएको सल्लाहको आधारमा म आमचुनावमा भाग लिनेछु।”

“मलाई कानून एकदम स्पष्ट छ भनेर सल्लाह दिइएको छ। निर्वाचन विभागले पछि विज्ञप्ति जारी गर्नेछ भन्ने मैले बुझेको छु,” उनले थपे, “यो चुनाव सजिलो हुनेवाला छैन। हामीले कडा संघर्ष गर्नुपर्ने छ र हामी त्यही गर्नेछौँ।”

सिंहलाई प्रत्येक अभियोगमा सात हजार सिंगापुर डलर जरिबाना गरिएको छ। अदालतको फैसलाविरुद्ध अपिल गर्ने सिंहले बताएका छन्। 

संविधानअनुसार न्यूनतम १० हजार सिंगापुर डलर (सात हजार ४०० अमेरिकी डलर) जरिबाना या कम्तीमा एक वर्षको जेल सजाय पाउने व्यक्ति निर्वाचनमा भाग लिन या पाँच वर्षसम्म संसदीय सिट धारण गर्न अयोग्य ठहरिन्छ।

“प्रतिआरोप १० हजार अमेरिकी डलर जरिबानाको सीमा ननाघेकाले उहाँ निर्वाचनमा जान अयोग्य ठहरिनुहुने छैन,” सिंगापुर म्यानेजमेन्ट युनिभर्सिटीमा संवैधानिक कानूनका प्राध्यापक यूजीन टानले एएफपीसँग भने। 

यस प्रकरणपछि विधायिकाबाट राजीनामा दिएकी रईसा खानले आफूसँगै आएकी एक महिला बलात्कार पीडितको बारेमा संसद्मा सुनाएको कथा बनावटी भएको स्वीकारेकी थिइन्।

पूर्वसांसदले सन् २०२१ मा संसद्लाई दिएको जानकारीमा एक रक्सी पिएका प्रहरी अधिकारीले पीडितको पहिरनबारे ‘असंवेदनशील टिप्पणी’ गरेको बताएकी थिइन्। 

गृहमन्त्री के शनमुगमले यस्तो घटनाको प्रहरीसमक्ष कुनै अभिलेख नभेटिएको र खानले अन्ततः झूट बोलेको स्वीकारेका बताए। 

त्यसपछि सिंहमाथि खानको बयानबारे छानबिन गर्ने संसदीय समितिसमक्ष झूट बोलेको आरोप लागेको थियो।