ज्यालामा विभेद भोगेपछि ठेकेदार बनेकी पार्वती

घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदुरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफै निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्।

दोधारा चाँदनी– पहिला दिनभर मजदुरी गरेर ५०० रुपैयाँ ज्याला पाउने कञ्चनपुरको वेदकोट नगरपालिका–५ धरपुरकी पार्वती डगौरा हाल दैनिक १ हजार रुपैयाँ आम्दानी गर्न थालेकी छन्। 

घर तथा विभिन्न संरचना निर्माणमा पुरुषसरह मजदुरी गर्दा पनि महिला भएकाले ज्याला कम पाउन थालेपछि पार्वतीले आफै घर निर्माणको ठेक्का लिने योजनासहित मिस्त्रीको काम सिकिन्। त्यसपछि उनको दैनिकी फेरिएको हो। 

“दिनभर पुरुषसरह मजदुरी गर्दा पनि ज्याला कम पाउन थालेपछि आफै मिस्त्रीको काम गर्ने योजना बनाएँ,” पार्वतीले भनिन्, “वडा कार्यालयमा राज मिस्त्रीको तालिम लिएँ। अहिले घर निर्माणको ठेक्का लिन थालेकी छु।”

राज मिस्त्रीको तालिम सकिनेबित्तिकै गाउँमा एउटा घर निर्माणको ठेक्का मिलेको उनले सुनाइन्। “मजदुरी गरेर मात्रै घरखर्च धान्न गाह्रो भयो अब आफै मिस्त्रीको काम गर्नुपर्छ भनेर हिम्मत गरेँ,” उनले भनिन्, “मैले महिला पुरुष दुवैको ज्याला समान गरेकी छु। आफूले भोगेको जस्तो ज्यालामा विभेद गरेको छैन।”

पार्वतीले गाउँमै तीन वटा घरको ठेक्का लिएर निर्माण सम्पन्न गरिसकेकी छन्। एउटा घरको काम नसकिँदै अर्को घरको ठेक्का पाउने गरेको उनको भनाइ छ। “अहिले धेरै सजिलो भएको छ ठेक्का पाइराखिएको छ,” उनले भनिन्, “पहिला मजदुरीमा जाँदा थोरै ढिला भए पनि ठेकेदारले फर्काइदिन्थ्यो।”   

दृढ इच्छा शक्ति धैर्यता र निरन्तरता हुने हो भने कुनै चिज असम्भव नहुने डगौराको भनाइ छ। “यहाँ ज्यालामा धेरै विभेद छ, एउटै कामको ज्यादा पुरुषलाई बढी महिलालाई कम दिइन्छ,” उनले भनिन्, “यो विभेद अन्त्य गर्नका लागि पनि मैले हिम्मत गरेर तालिम लिएर आफै घर निर्माणको ठेक्का लिन थालेकी हुँ।” अहिले उनले अरू महिलालाई रोजगारी दिएकी छन्। 

वेदकोट नगरपालिका–४ का वडाध्यक्ष नरेन्द्रबहादुर बोहराले केही गर्न चाहने महिलालाई आत्मनिर्भर बन्न तालिम प्रदान गरिएको बताए। “अहिले धेरै महिला विभिन्न पेसामा सक्रिय रहेर आत्मनिर्भर बनेका छन्। व्यवसाय गर्ने महिलालाई आर्थिक सहयोग पनि गरिरहेका छौँ,” उनले भने।