रोकिएको धरहरा पुनःनिर्माण अझै शुरू भएन

धरहरा पुनःनिर्माणका क्रममा सुन्धारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मंसिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्।

काठमाडौँ- विगत एक हप्तादेखि रोकिएको ऐतिहासिक धरहरा पुनः निर्माणको काम अझै शुरू हुन सकेको छैन।  

धरहरा पुनःनिर्माणका क्रममा सुनधारामा पानी पठाउने मूलधारा नष्ट हुनेगरी डोजर चलाइएको भन्दै काठमाडौँ महानगर र स्थानीयले गत मंसिर २६ गतेदेखि धरहरा पुनःनिर्माणको काम रोकेका छन्। 

कामपा वडा नं २२ का अध्यक्ष चिनीकाजी महर्जनले रोकिएको काम कसरी अघि बढाउने भनेर स्थानीयसँग छलफल भइरहेको तर निष्कर्षमा नपुगेकाले काम शुरू हुन नसकेको बताउनुहुन्छ। “दैनिकरूपमा अवलोकन गर्नेगरी समिति बनाउनेबारे छलफल भइरहेको र समितिलाई एक–दुई दिनमा पूर्णता दिएर निर्माणको काम अघि बढ्छ” , अध्यक्ष महर्जनले भने। 

मौलिक कला, संस्कृतिको नमुनाका रूपमा रहेको ऐतिहासिक सुनधाराको संरचना पुनःनिर्माणका नाममा भत्काउन नहुने उनले बताए। उनले ऐतिहासिक सुनधाराको संरचना जोगाउनकै लागि पहलकदमी अघि बढाएको बताए।    

ऐतिहासिक महत्त्व बोकेको सुनधारामा पानी पठाउने (काठको लामो पाइप) नष्ट गरी उक्त स्थानमा निर्माण कम्पनीले डोजर लगाएर एक लाख लिटर पानी अट्ने विशाल ट्यांकी निर्माण गर्ने तयारी गरेपछि धरहरा पुनःनिर्माणको बाँकी काम रोकिएको हो।  

भूकम्पले ढलेको धरहरा पुनःनिर्माणको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवतरूपमा २०७५ पुस १२ गते उद्घाटन गरेका थिए। बयालिस रोपनी क्षेत्रफलमा निर्माण गरिएको धरहरा भित्र २२ तलाको र उचाइ ७२ मिटर र ४८ फिटको बेस रहनेछ। 

धरहरा टावरको पुनः निर्माण सम्पन्न भएको भन्दै विसं २०७८ वैशाख ११ गते नै उद्घाटन गरिएको थियो। उद्घाटन भएको डेढ वर्ष बितिसक्दासम्म अन्य निर्माणको काम सम्पन्न हुन सकेको छैन।