जाजरकोटमा शुरू भयो भूकम्पपछिको पुनर्निर्माण

पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरूको विस्तृत विवरण संकलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ।

फाइल तस्वीर

काठमाडौँ– जाजरकोट केन्द्रविन्दु भई गएको भूकम्प प्रभावित जिल्लामा पुनर्निर्माण शुरू गरिएको छ। डोटीमा ६०० भन्दा बढी लाभग्राहीसँग सम्झौता भइसकेको र अनुदान रकम पठाउने तयारी गरिएको छ। 

अन्य जिल्लाहरू जाजरकोट र रुकुम पश्चिममा क्षतिको विवरण संकलन भइरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मकुमार भुसालले जानकारी दिए। डोटीमा गत वर्ष नै क्षति विवरण संकलन गरिएकामा उक्त तथ्यांकलाई पुनः परीक्षण गरेर पुनर्निर्माण अघि बढाइएको उनले बताए। उनका अनुसार डोटीमा नौ हजार हाराहारीमा लाभग्राही छन्।

जाजरकोट र रुकुम पश्चिममा पुनर्निर्माणका लागि पहिलो चरणको विवरण संकलन भइरहेको र अब पुनर्निर्माण शुरू हुने कार्यकारी प्रमुख डा. भुसालले जानकारी दिए। उनका अनुसार  पश्चिम नेपालमा भूकम्पबाट क्षति भएका निजी घरहरूको विस्तृत विवरण संकलनमा विपद् अध्ययन केन्द्र, इन्जिनियरिङ अध्ययन संस्थान, त्रिभुवन विश्वविद्यालय र प्राधिकरणबीच सम्झौता गरी काम भइरहेको छ।

यकिन विवरण संकलन गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव वेदनिधि खनाल, सुदीपविक्रम भट्ट र रामबहादुर केसीसहितको टोलीले स्थलगत रूपमा जाजरकोट पुगेर पहिलो चरणमा खटिने प्राविधिकलाई तालिम दिएका छन्। 

उनीहरूले स्थानीय तह, शहरी विकास मन्त्रालय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट खटिएका इन्जिनियरलाई तालिम सञ्चालन गरेका हुन्। रुकुम पश्चिमका लागि पनि टोली खटाइसकिएको प्राधिकरणले जनाएको छ।