ज्येष्ठ नागरिकलाई दन्त उपहार

ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई दन्त उपहार प्रदान गर्ने भएको छ।

फाइल तस्वीर

काठमाडाैँ– दाँत झरेपछि अुनहारको शोभा मात्र बिग्रिँदैन। खाने कुरा चपाउन नसक्दा पाचन प्रणाली बिग्रिन्छ, शब्दको सही उच्चारण नहुँदा कुराकानी बिग्रिन्छ। बुढ्योलीसँगै दाँत झर्न थालेपछि यस्ता समस्याबाट पीडित हुन्छन् ज्येष्ठ नागरिक।

यही समस्यालाई सम्बोधन गर्न ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले ७० वर्ष माथिका आंशिक वा पूर्ण रूपमा दाँत नभएका ज्येष्ठ नागरिकलाई  नक्कली दाँत उपहार प्रदान गर्ने भएको छ।

पूर्वाञ्चल डेन्टल हस्पिटल प्रालि, इटहरीको सहकार्यमा बुधबारदेखि दन्त परीक्षण गरी पूर्ण वा आंशिक रूपमा दाँत उपलब्ध गराइने निमित्त प्रमुख प्रशासकीय अधिकृत समिर प्रधानले जानकारी दिए। दक्ष दन्त चिकित्सकमार्फत सेवा प्रदान गरिने पालिकाले जनाएको छ।

पालिकाले प्रत्येक वडामा शिविर सञ्चालन गर्ने जनाएको छ। फागुन ७ गते वडा नं १ (निघुरादिन), ८ गते वडा २ (फूलबारी), ९ गते वडा ३ (हाङपाङ) मा सेवा प्रदान गरिनेछ। त्यसैगरी, फागुन १० र ११ गते वडा ४ (चाँगे) र वडा ५ कार्यालय भवनमा शिविर सञ्चालन हुनेछ।

लाभग्राहीले नेपाली नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा पेस गर्नुपर्ने गाउँपालिकाले जनाएको छ।