भारतमा अध्ययनरत विद्यार्थीको सुरक्षाका लागि कूटनीतिक पहलको माग

भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

काठमाडौँ– भारतमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिका लागि कूटनीतिक र राजनीतिक पहल तत्काल थाल्न सांसदले सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनीहरूले भारतको उडिसा राज्यको कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)मा बुटवलकी प्रकृति लम्सालको मृत्युको छानबिन र त्यहाँ अध्ययनरत अन्य विद्यार्थीको सुरक्षाका लागि भारत सरकारसँग समन्वय गर्न सरकारलाई आग्रह गरेका हुन्।

सांसदहरू छविलाल विश्वकर्मा, माधव सापकोटा, ध्रुवबहादुर प्रधान, ठाकुर गैरेले प्रकृति लम्सालको रहस्यमय मृत्युबारे छानबिन, दोषीमाथि कारबाही तथा केआईआइटी विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको सुरक्षा प्रत्याभूतिको माग गरेका हुन्।

सांसद प्रभु साहले शिवरात्रि मेला लाग्ने क्षेत्रमा सुरक्षित यातायात तथा सडक, खानेपानी, शौचालय, स्वास्थ्योपचार, सुरक्षा व्यवस्थामा ध्यान पुर्‍याउनुपर्ने बताए।

सांसद डा. तोसिमा कार्कीले नेपाल रेडक्रस सोसाइटीमा भएको आर्थिक हिनामिना र त्यससम्बन्धमा भएको छानबिन बारेमा सदनलाई जानकारी दिनुपर्ने बताइन्।