रिंकुकुमारीको मृत्युबारे अनुसन्धान गर्न प्रदेश कार्यालयले गठन गर्‍यो समिति

 सिरहाको नवराजपुरकी किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरणबारे अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ। 

जनकपुरधाम– सिरहाको नवराजपुरकी किशोरी रिंकुकुमारी सदाको मृत्यु प्रकरण अनुसन्धानका लागि मधेश प्रदेश प्रहरी कार्यालयले समिति गठन गरेको छ। मधेश प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा समिति गठन गरेको हो। 

समितिमा प्रहरी निरीक्षक तथा मुद्दा शाखाका कर्मचारीसहित पाँच जना सदस्य रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ। समितिले मंगलबारदेखि नै घटनास्थलमा गई घटनाका बारेमा सोधपुछ तथा अनुसन्धान कार्य प्रारम्भ गरेको छ।

गत माघ ३० गते सिरहाको नवराजपुर गाउँपालिका–१ भवगतीपुर टोलकी एक किशोरी आफ्नै घरको टिनको छानोमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।

घटना हुनुअघि उनीमाथि स्थानीय तीन जना युवकले सामूहिक बलात्कार गरेको पीडित परिवारको आरोप छ। पञ्चायत बसेर घटना मिलाउन दबाब दिएको किशोरीकी आमाको दाबी छ। आरोपीहरूले सामूहिक रूपमा एक लाख ४० हजार रुपैयाँ ‘जरिबाना’ तिर्नुपर्ने पञ्चायतले निर्णय गरेको थियो। तर किशोरीले त्यसमा आपत्ति जनाएको उनकी आमाको भनाइ छ।

पञ्चायतले पैसा लिएर पीडकहरूसँग मिल्न धम्की दिएपछि उनले आत्महत्या गरेको परिवारको दाबी छ। स्थानीय टिंकु मण्डल, चन्दन साह र रमेश मण्डलले गत माघ २६ गते राति १७ वर्षीया ती किशोरीलाई नियन्त्रणमा लिएर सामूहिक बलात्कार गरेको र राति करिब ३ बजे घरमा छाडिदिएको परिवारको भनाइ छ। भोलिपल्ट यही घटनालाई लिएर गाउँमा पञ्चायती बसेको थियो। 

जिल्ला प्रहरी कार्यालय सिरहाले उक्त घटनामा आत्महत्या दुरुत्साहनको जाहेरी परेको जनाएको छ। तर सामूहिक बलात्कारको आरोप पनि लागेपछि आफूहरूले त्यसबारे समेत अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र पासवानले बताए।