नेप्से परिसूचकमा लगातार दोहोरो अंकको वृद्धि

मंगलबार नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ को बिन्दुमा कायम भएको छ।

काठमाडौँ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा लगातार दोहोरो अंकको वृद्धि देखिएको छ। आइतबार १९.५६ र सोमबार २९.८७ अंकले बढेको नेप्से परिसूचक मंगलबार ११.९१ अंकले बढेको हो।

०.४३ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक २७३९.८२ को विन्दुमा कायम भएको छ। मंगलबार ३१४ कम्पनीको एक करोड ८२ लाख ३० हजार ३०२ कित्ता शेयर ९९ हजार ५८५ पटक खरिदबिक्री हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँ बराबरको कारोबार भएको छ।

यस दिनको कारोबारमा बैंकिङ ०.२२, लगानी १.२४, जीवन बीमा १.७४, निर्जीवन बीमा ०.३०, व्यापार ०.४१ र अन्य समूह ३.६७ प्रतिशतले बढेको छ। अरू सबै समूहको उपसूचक घटेको छ।

विकास बैंक १.७४, वित्त १.५०, होटेल तथा पर्यटन १.०४, जलविद्युत् ०.१३, उत्पादन तथा प्रशोधन ०.०६, लघुवित्त ०.७९ र म्युचुअल फन्ड ०.०५ प्रतिशतले घटेको छ।

वीन नेपाल लघुवित्त, गुराँस लघुवित्त, इमर्जिङ नेपाल र गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

त्यस्तै, सप्तकोशी डेभेलपमेन्ट लिमिटेड र कुमारी डिभेन्चर–२०८६ को शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकम र कारोबार भएका शेयर संख्याका आधारमा हिमालयन रिइन्स्योरेन्स लिमिटेड अगाडि देखिएको छ। यो कम्पनीको मंगलबार ८२ करोड दुई लाख ३६ हजार ९१० रुपैयाँ बराबरको आठ लाख ९३ हजार ८५ कित्ता शेयर किनबेच भएको छ।