संगठनको पोसाकसहितको भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्ने १२० सशस्त्र प्रहरी कारबाहीमा

सशस्त्र प्रहरीले संगठनको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई सामाजिक सञ्जालमा अपलोड गरेका १२० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ।

काठमाडौँ– सशस्त्र प्रहरी बल नेपालले संगठनको निर्देशन विपरीत सामाजिक सञ्जालमा संगठनको पोसाक लगाई विभिन्न क्रियाकलाप गरेको तस्वीर तथा भिडियो बनाई अपलोड गरेका १२० जना सशस्त्र प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरेको छ।

सशस्त्र प्रहरीले चार जना प्रहरी नायब निरीक्षक, पाँच जना सहायक निरीक्षक, ६ जना वरिष्ठ हवल्दार, तीन जना हवल्दार, नौ जना सहायक हवल्दार, ९१ जना जवान र दुई जना परिचरलाई कारबाही गरेको हो।

उनीहरूलाई नसिहत, बढुवा रोक्का, चेतावनी, सचेत, ध्यानाकर्षण र मौखिक सम्झाइबुझाइ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए।

संगठनको नियम विपरीत कार्य गर्ने जुनसुकै दर्जाका सशस्त्र प्रहरी कर्मचारीलाई नियमन गर्नका लागि सामाजिक सञ्जाल अनुगमनसम्बन्धी शाखा स्थापना गरेको छ।

सशस्त्र प्रहरी प्रधान कार्यालयले सामाजिक सञ्जालमा अमर्यादित ढंगको तस्वीर तथा भिडियो बनाई अपलोड गर्ने २८ जना सशस्त्र प्रहरी कर्मचारीमाथि विभागीय कारबाही गरी सोको विवरण यथाशीघ्र खुलाई पठाउन मातहत कार्यालयलाई निर्देशनसमेत दिएको छ।