प्रकृति मृत्यु प्रकरण: छोरीसँग कुराकानी भएको ४५ मिनेटपछि शोकको खबर

प्रकृतिको न्यायका लागि उभिएका विद्यार्थीमाथि भएको दुर्व्यवहार, रातारात उनीहरूलाई घर फर्किन बाध्य पारिएको देख्दा आफूहरूलाई झन् पीडा भएको प्रकृतिका हजुरबुबा देवनाथ बताउँछन्।

काठमाडौँ– काठमाडौँको धापासीमा आइतबार बेलुकी सरिता र सुनिल लम्साल दम्पती खान खाने तरखरमा थिए।

आमा सरिताले आइतबार बेलुकी भारतको ओडिसाको राजधानी भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा बीटेक तेस्रो वर्ष अध्ययनरत २१ वर्षीय छोरी प्रकृतिसँग कुराकानी गरिन्। उनले त्यस दिन आफू कलेजको वार्षिकोत्सवमा आयोजना गरिएको कन्सर्टमा सहभागी हुन लागेको आमालाई बताएकी थिइन्।

छोरीसँग कुराकानी भएको करिब ४५ मिनेटपछि लम्साल दम्पतीको फोन तारनतार बजिरह्यो। भारतमा आएको फोनबाट छोरी प्रकृति विश्वविद्यालयको होस्टेलमा मृत भेटिएको खबर पाए। भारतमा पढ्न गएकी छोरीको अप्रिय खबरले लम्साल दम्पती अत्तालियो। खबरपछि बाबु सुनिल चार जना आफन्तसहित भारतीय राज्य ओडिसास्थित भुवनेश्वर पुगे।

भैरहवा घर भएको प्रकृतिको परिवार काठमाडौँ बस्छ। केही वर्षअघि काठमाडौँ आएका प्रकृतिका बुबाआमा धापासीमै साथी फुड्स उद्योग सञ्चालन गर्दै आएका छन्। परिवारसँगै काठमाडौँ पुगेकी प्रकृति एसईई र प्लसटुपश्चात् उच्चशिक्षाका लागि भारत गएको पुगेकी थिइन्। उनका एक जना भाइ छन्।

प्रकृतिकी फुपू सीता ढकालका अनुसार घटना हुनुभन्दा केही समयअघिसम्म प्रकृतिसँग सरिताको कुराकानी भएको थियो। “छोरीसँग कुरा भएको एक घण्टा पनि नबित्दै उताबाट अप्रिय खबर आयो,” फुपू सीताले उकालोसँग भनिन्, “त्यसपछि परिवारमा रुवाबासी चल्यो।”

छोरीको मृत्युको खबरले विक्षिप्त सरितालाई सोमबार काठमाडौँबाट बुटवल पुर्‍याइयो। अहिले उनी अर्धमुर्छित अवस्थामै बुटवलमा माइतीको साथमा छिन्।

“घटनाको दुई दिन भइसक्दा पनि उहाँ (आमा सरिता) अर्धचेत अवस्थामै हुनुहुन्छ,” फुपू सीताले भनिन्, “उहाँ अझै बोल्न सक्ने अवस्थामा हुनुहुन्न।”

प्रकृतिका हजुरबुबा र हजुरआमा भैरहवाको सिद्धार्थनगर नगरपालिका–८ मा बस्दै आएका छन्। प्रकृतिको मृत्युपश्चात् परिवार र आफन्तहरू त्यहीँ भेला भएका छन्।

मंगलबार बिहान हामीले प्रकृतिका हजुरबुबा देवनाथ लम्सालसँग कुराकानी गर्न प्रयास गर्‍यौँ। परदेशको भूमिमा पढ्न गएकी नातिनीको मृत्युको खबरले देवनाथ राम्रोसँग बोल्न सक्ने अवस्थामा थिएनन्। “नातिनीको खबरले हामी आँसुमा डुबेका छौँ,” उनले भने, “के बोल्नु, न बोल्नु भइ‘राछ।”

सोमबारदेखि नै हजुरबुबा देवनाथलाई तारनतार फोन आइरहेका छन्। आफन्त र परिवारले सक्दो ढाडस दिइरहेका छन्। 

घटनाको तेस्रो दिन मंगलबार पनि दिनभर देवनाथ र उनकी श्रीमतीलाई भेट्न आफन्तहरू आइरहे। “प्रकृतिको मृत्युले हाम्रो परिवार मात्र हैन, सिंगो भैरहवा नै शोकमा डुबेको छ,” देवनाथका एक नातिले फोनमा उकालोसँग भने।

यसैबीच देवनाथले उक्त घटनापश्चात् ओडिसामा चर्किएको आन्दोलनबारेका समाचारहरू नियालिरहेका छन्। त्यहीँबाट घटनापश्चात् उत्पन्न परिस्थिति र नेपाली विद्यार्थीमाथि भएको दुर्व्यवहारसमेत उनले थाहा पाए।

“हाम्री नातिनीमाथि जे नहुनु थियो भयो,” उनी भन्छन्, “घटनाको विरोधमा उभिएका विद्यार्थीमाथि समेत दुर्व्यवहार गरियो। रातारात उनीहरूलाई घर फर्कान लगाइयो। यसले हामीलाई झन् पीडा थपेको छ।”

अहिले उनलाई आफन्त परिवारको मात्रै होइन, सञ्चारमाध्यमबाट समेत प्रकृतिको घटनाबारे बुझ्न फोन आइरहेका छन्। तर उनी आफै बोल्न सक्ने अवस्थामा छैनन्। “हामी नातिनी गुमाउँदाको शोकमा छौँ,” देवनाथ भन्छन्, “हामीसँग बोल्ने कुरा के नै भयो र?”

पारिवारिक स्रोतका अनुसार पोस्टमार्टम रिपोर्ट आएपछि प्रकृतिको शव नेपाल ल्याउने तयारी छ। सम्भवतः बुधबार प्रकृतिको पार्थीव शरीरको अन्त्येष्टि गर्ने तयारी परिवारको छ।

परिवार भन्छ– न्याय देऊ
प्रकृतिको मृत्यु प्रकरणमा सोही विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी अड्विक श्रीवास्तव प्रहरी नियन्त्रणमा छन्। भारतीय प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ।

नेपालमा रहेका प्रकृतिका परिवार र आफन्तले भने उनको लागि न्याय मागिरहेका छन्। “उनलाई मर्न बाध्य पारिएको हो,” प्रकृतिको परिवार भन्छ, “घटनाको सत्यतथ्य छानबिन गरेर दोषीलाई सजाय हुन पर्‍यो।”

घटनाबारे यर्थाथ बाहिर ल्याएर दोषीलाई सजाय दिए मात्र न्यायको अनुभूति हुने परिवारको भनाइ छ।

छोरीको मृत्युपछि वास्तविकता बुझ्न ओडिसा पुगेका बुबा सुनिलले भारतीय स्थानीय सञ्चारमाध्यमसँग कुरा गर्दै आफूहरूलाई न्याय चाहिएको बताएका छन्। उनले भनेका छन्, “उनीमाथि ह्यारेसमेन्ट र इमोसनल ब्ल्याकमेलिङ भयो, त्यही कारण उनले आत्महत्या गरेकी हुन्।”

तपाईंको माग के छ भन्ने सञ्चारकर्मीहरूको प्रश्नमा उनले भनेका छन्, “हामीलाई अरू चाहिएको होइन। हाम्रो माग न्याय पाउनुपर्‍यो भन्ने हो।”

साथै उनले यस्तो घटना अरू विद्यार्थीमाथि नदोहोरिओस् समेत बताएका छन्। “हाम्रो छोरीमाथि जे भयो, त्यो अरू विद्यार्थीमाथि नहोस्,” उनले भनेका छन्, “हाम्ले जस्तो पीडा अरू अभिभावकले भोग्न नपरोस्।”